गोपाल विश्वकर्माको संयोजकत्वमा धादिङमा नेपाली कांग्रेस देउवा पक्षको संगठन परिचालनअसोज १५ देखि वडा अधिवेशन हुने

130 पटक पढिएको

१२ आश्विन २०८३, सोमबार ०६:२७ सम्पादक: धादिङ न्यूज

धादिङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा समूहले धादिङमा संगठन निर्माण तथा अधिवेशन केन्द्रित गतिविधिलाई तीव्र बनाएको छ। यसैक्रममा धादिङमा देउवा समूहको आधिकारिक सम्पर्क कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ।

जिल्ला अधिवेशनको तयारी तथा सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी नेपाल तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्मालाई दिइएको छ। विश्वकर्माकै संयोजनमा हाल जिल्लामा महाधिवेशनसम्बन्धी विभिन्न गतिविधि तथा राजनीतिक तयारीहरू अघि बढाइरहेको जनाइएको छ।

संयोजक गोपाल विश्वकर्माका अनुसार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धादिङ जिल्लामा आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। वडा तहको अधिवेशन सम्पन्न भएपछि क्रमशः पालिका तथा जिल्ला तहका अधिवेशनहरू नियमित तालिका अनुसार अघि बढाउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।

जसअनुसार, नेपाली कांग्रेस धादिङ प्रतिनिधिसभा क्षेत्र नं. १ ले महाधिवेशनको तयारी तथा परिचालनका लागि रवि सुदन थापालाई परिचालन समितिको संयोजकको जिम्मेवारी दिएको छ। त्यसैगरी, प्रदेश सभा क्षेत्र नं. १(क) मा वर्तमान उपसभापति  सुजन पाण्डेलाई प्रदेश संयोजक र प्रदेश सभा क्षेत्र नं. १(ख) मा पूर्व जिल्ला कार्यसमिति सदस्य ज्ञानेन्द्र सिलवाललाई संयोजकमा सर्वसम्मत चयन गरिएको नेपाली कांग्रेसका युवा नेता विकास अधिकारीले जानकारी दिनुभयो।

धादिङका १०४ वटै वडामा १५औँ अधिवेशनबाट ४५ वर्षभन्दा कम उमेरका ऊर्जावान् युवाहरूलाई नेतृत्वमा ल्याउने योजनासहित संगठन अघि बढेको जिल्ला संयोजक गोपाल विश्वकर्माले बताउनुभयो। निवर्तमान सभापति देउवाबाट प्रतिपादित सिद्धान्तअनुसार १०४ वटै वडामा जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक र समावेशी अवधारणा लागू गरिने तथा निर्वाचित पदहरूको वैज्ञानिक ढङ्गले जिम्मेवारी कार्यान्वयन गराउने उहाँले प्रष्ट पार्नुभयो।

१४औँ महाधिवेशनबाट निर्वाचित भएको कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको देउवा पक्ष संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी भएको छैन। कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको तर्क गर्दै आएको यो समूहले वार्ता र सहमतिका आधारमा संयुक्त रूपमा महाधिवेशन गर्नुपर्ने माग सुनुवाइ नभएपछि आपत्कालीन मोडमा समानान्तर कार्यतालिकासहित अघि बढेको हो।

देउवा समूहका संयोजक डा. शशाङ्क कोइरालाले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने निर्णयसहित यही असोज १६ गतेबाट वडा अधिवेशन सुरु हुने र त्यसका लागि ५६ जिल्लामा निर्वाचन संयोजक तोकिएको जानकारी दिनुभएको छ। यसैबीच, क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले गत असोज ९ गतेसम्म वितरण र नवीकरण गरिएका कूल ७ लाख ८३ हजार ८३६ (जसमध्ये ५ लाख ७३ हजार ३६९ नवीकरण र २ लाख १० हजार ६६७ नयाँ) क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई हस्तान्तरण गरिसक्नुभएको छ।

धादिङसहित बागमती प्रदेशका अन्य १० जिल्लामा पनि देउवा पक्षले संगठन विस्तार र संयोजक तोक्ने कामलाई पूर्णता दिएको छ। बागमती प्रदेशअन्तर्गत दोलखामा ताराबहादुर खड्का (जयराम श्रेष्ठ सहसंयोजक), रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल विश्वकर्मा, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भिम लामा, भक्तपुरमा दुर्लभ थापा (जिल्ला सभापति), ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौँमा जयकृष्ण महर्जनलाई संयोजक तोकिएको छ।