‘लक्ष्मणदास उत्कृष्ट युवा सम्मान-२०८३’ गायक तथा हास्य कलाकार प्रोशेश पाण्डेलाई प्रदान गरिने

216 पटक पढिएको

२९ कार्तिक २०८३, शनिबार ०७:२३ सम्पादक: धादिङ न्यूज

धादिङ .कार्तिक २८- ठाकुरप्रसाद शर्मा प्रतिष्ठान, गजुरी-१ धादिङद्वारा प्रदान गरिने ‘लक्ष्मणदास उत्कृष्ट युवा सम्मान-२०८३’ बहुमुखी प्रतिभाका धनी गायक तथा हास्य कलाकार प्रोशेश पाण्डेलाई प्रदान गरिने भएको छ। प्रतिष्ठानका कार्य समिति सदस्य तथा इन्जिनियर अर्जुनकुमार श्रेष्ठद्वारा युवावस्थामा दिवंगत हुनुभएका आफ्ना दाजु स्व. लक्ष्मणदास श्रेष्ठको स्मृतिमा स्थापित रु. २५ हजार नगद राशि तथा सम्मान-पत्रसहितको उक्त सम्मान गजुरी गाउँपालिका वडा नं. २ बेल्टार निवासी पाण्डेलाई प्रदान गर्ने निर्णय गरिएको हो। डा. रामशरण थपलियाको संयोजकत्वमा गठित सिफारिस समितिको सिफारिसका आधारमा प्रतिष्ठानले यो निर्णय गरेको हो ।

कीर्तिपुरस्थित ल्याबोरेटरी माध्यमिक विद्यालयबाट एसईई र बसुन्धरास्थित तक्षशिला एकेडेमीबाट कक्षा १२ उत्तीर्ण गरेका २० वर्षीय पाण्डे हाल ललितकला क्याम्पसमा सङ्गीत विषयमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन् । जन्मैदेखि दृष्टिविहीन तथा सुमधुर स्वरका धनी पाण्डे चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ६ (२०८२ वैशाख) का विजेतासमेत हुन, जसमा उनले उपाधिसँगै रु. २० लाख पुरस्कार प्राप्त गरेका थिए। हालसम्म उनको स्वरमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भइसकेका छन् भने लोकप्रिय नेपाली हास्य तथा रोस्ट शो ‘कमेडी बाज’ मा हास्य कलाकारका रूपमा समेत उहाँ सक्रिय छन् । आफ्नो गला र कलाको माध्यमबाट गजुरी एवम् समग्र धादिङ जिल्लाको नाम उँचो राख्न सफल पाण्डेले कला तथा संस्कृतिको क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै प्रतिष्ठानले सम्मान गर्ने निर्णय गरेको हो।

आगामी २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो २:३० बजे आदर्श माध्यमिक विद्यालय, गजुरी-१, गजुरी बजारमा एक विशेष समारोहका बीच उक्त सम्मान अर्पण गरिनेछ। धादिङ जिल्लाकै पहिलो हाइस्कुलका संस्थापक प्रधानाध्यापक, शैक्षिक नक्षत्र तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्माको प्रमुख आतिथ्यमा समारोह सम्पन्न हुनेछ। कार्यक्रममा उपस्थित भई शोभा बढाइदिनका लागि स्थानीय अभिभावक, शिक्षासेवी, समाजसेवी, शिक्षक, विद्यार्थी, गीत-संगीतप्रेमी, प्रतिष्ठानका आजीवन सदस्य तथा सम्पूर्ण शुभेच्छुक जनसमुदायहरूमा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले हार्दिक अनुरोध गरेको छ।