नौबिसे-नागढुंगामा खाल्डैखाल्डा

532 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

धादिङ , फाल्गुन ३ – त्रिभुवन राजपथको नौबिसे-नागढुंगा खण्डमा ३० वर्षदेखि सडक मजुदरका रूपमा रहेका कृष्णबहादुर भण्डारीको एउटै धोको छ, सडक स्तरीय भएको हेर्ने ।

जीवनका ऊर्जाशील समय सडक सफा गर्न र नाली सोहोर्न खर्चिएका उनले सडकको हालत यस्तै भए मरेपछि पनि आत्माले शान्ति नपाउने चिन्ता गरे । ‘सबै मिलेर काम गरे दुई साताभित्र पूरै मर्मत-सम्भार हुन्छ,’ उनले भने, ‘तर वर्षौं भयो, सडक भत्केर यात्रुले सास्ती भोग्नुपरेको ।’ ७२ वर्षीय उनी बिहानै घरबाट साबेल, गैंती लिएर राजमार्गमा परेका खाल्डाखुल्डी पुर्दै, पानी जमेका ठाँउमा नाला काट्दै हिडँछन् । दैनिक काम गरे पनि सडक जस्ताको तस्तै हुँदा उनको चित्त बुझेको छैन । नौबिसे ६ खानीखोला निवासी भण्डारीले भने, ‘सरकारले चाहने हो भने दुई किलोमिटर सडक एकै दिन कालोपत्रे गर्न सक्छ ।’

सडक निर्माणमा भएको ढिलासुस्तीले कहिल्यै नसकिएको उनको ठम्याइ छ । सडक डिभिजन कार्यालयको ३५ रुपैयाँ तलबमा काम सुरु गरेका उनको जागिर अहिले ११ हजार ८ सय पुगेको छ । सडक भने खनेकै अवस्थाभन्दा कुनै फरक नभएको उनको ठम्याइ छ । ‘जताततै हिलो, खाल्डाखुल्डी र धुलो छ,’ भण्डारीले भने, ‘राजधानी छिर्ने मुख्य नाकाको सडक कच्ची छ ।’ सरकार, विभाग र मर्मतको जिम्मा लिएका ठेकेदारले ध्यान दिएर काम गरे सडक स्तरीय बन्ने उनी ठोकुवा गर्छन् । दाँत झरिसकेका वृद्धा सडक मजदुरले नौबिसे-नागढुंगा खण्डमा सरकारले छुट्याएको बजेट त्यहींको धुलोमा उडेको बताए । सबैभन्दा बढी भत्केको याकघरदेखि झ्याप्ले खोलासम्मको तीन किलोमिटर क्षेत्र रेखदेख गर्ने जिम्मा उनले पाएका छन् । ‘म एक्लो बूढाले के गर्नु ?, के नगर्नु ?, सडकको अवस्था देखेर मेरो मन रुन्छ,’ उनले कान्तिपुरसित भने ।

सडकको हिलो र धुलो सफा गर्दा उनको मुखभरि पस्छ । गाडीले उडाएको धुलोले धुलाम्मे हुन्छन् तर आफ्नो जिम्मेवारीबाट कहिल्यै भागेका छैनन् । ‘काम गर्दैगर्दा गाडीले हिलो छ्यापेर हिलाम्मे बनाउँछ,’ उनले भने, ‘काम त गर्नैपर्‍यो ।’ सडक जीर्ण भएर समयमै मर्मत नहुँदा उपचारका लागि राजधानी हिंडेका तीन गर्भवतीले राजमार्गकै ज्यान गुमाउनुपरेको उनले सुनाए । ‘सवारीसाधन र यात्रु मात्र होइन, एम्बुलेन्सका बिरामीसमेत जाममा पर्छन्,’ उनले भने । संरक्षण र संवर्द्धन गरेर सडक स्तरीय बनाउने हो भने केराको बोक्रासमेत बाटामा फाल्न रोक लगाउनुपर्ने उनको सुझाव छ ।

क्षमताभन्दा बढी सामग्री बोकेका सवारी, धुलो मार्न भन्दै सडक किनारकाले पानी लगाउने चलन, मनपरी सवारी चलाउने प्रवृत्तिका कारण पनि पटक/पटक भत्केको उनले सुनाए । ‘मैले ३० वर्ष काम गरेर पनि सडकलाई केही दिन सकिनँ,’ भण्डारीले भने, ‘सडक राम्रो नभएर दिनदिनै अलपत्र परेका यात्रुले दिएको श्रापले स्वर्ग पनि पुग्दिनँ जस्तो लाग्छ ।’ हुन त उनले ३० वर्ष सेवा गरे पनि अझै अस्थायी छन् । हाकिमसापहरूले चासो दिए बाटो बेलैमा स्तरीय बन्ने उनी आसा गर्छन् । उनले भने, ‘भत्केको सडक देखेर मेरो आत्मा रोएको छ ।’

ई कान्तिपुर डट कम