घर घरमा खानेपानी धारा ,गाउँबासीमा छायो खुसीयाली

943 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • केशव अधिकारी

धादिङ,११ चैत – बर्षौ देखि खानेपानीको संकट भोग्दै आएका धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४,६ र ७ वासिन्दामा अहिले खुसीयाली छाएको छ । बस्तीका हरेक घरघरमा जडान भएको धारा मार्फत नियमित खानेपानी आउन थालेपछि गाउँबासीमा खुसी छाएको हो । गजुरी गाउँपालिकाको वडा नम्बर ४,६ र ७ नम्बर वडाका गाउँबस्तीलाई समेटेर संचालन गरिएको श्यामैडाँडा खानेपानी आयोजनाबाट यहाँका ३ सय २६ घर परिवार लाभान्वित भएका छन् ।

श्यामैडाँडा खानेपानी आयोजना अन्र्तगत गाउँमा खानेपानी बितरणका लागि वनाईएको रिजर्भ ट्याङकी
तस्बिर : केशव अधिकारी /धादिङ न्यूज

घरआँगनमै पाइपमार्फत पानी आएपछि स्थानीयहरुमा खुसीको सीमा छैन । गाउँवासीले खानेपानीको लागि भोग्नु परेको पुराना दिन सम्झदा अहिले पनि अत्यास लाग्ने गरेको वडा सदस्य समेत रहेकी संगीता चेपाङ बताउँछिन । ‘गाउँमा पानीको संकट हुंदा असहाय, अशक्त र विरामीहरुले पिउने पानी पाउनै मुस्किल हुन्थ्यो,एक गाग्री पानी लिन मध्य रातदेखी घरभन्दा आधा घण्टा टाढा रहेको कुवामा गएर पालो कुर्नु पथ्र्यो । तर अहिले आँगनमै पाइपबाट पानी झरेको देख्दा सपना जस्तै लाग्ने गरेको छ’ । गाउँमै खानेपानी आएपछि यहाँका वासिन्दाको जीवनशैलीमा समेत परिवर्तन आउन थालेको छ ।
पहिलेका वर्षहरुमा हिउँदको समयमा उजाड देखिने गाँवासीको करेसाबारी अहिले हरियाली देखिन थालेका छन्, भाँडाकुँडा धुंदा खेर गएको पानीलाई सदुपयोग गर्दै सागपात र तरकारीहरु लगाउने गरिएको स्थानीय शान्ता अधिकारीले वताईन ।

श्यामैडाँडा खानेपानी आयोजना अन्र्तगत घरमा धारा जडान भएको धारामा हातमुख धुंदै स्थानीय एक महिला
तस्बिर : केशव अधिकारी /धादिङ न्यूज

गजुरी ६ रिमालटारका धनवहादुर श्रेष्ठ आफ्नै पालामा घरको आँगनमा पानी भरेर पिउन पाईन्छ भनेर आंफुले कहिल्यै कल्पनानै नगरेको बताउँछन । ७० बर्षिय श्रेष्ठले घरको आँगनमा धारोबाट पानी खसेको दिन सबैभन्दा खुसीको दिन भएको वताए । गाउँदेखि १० किलोमिटर टाढा रहेको भिरकटेरीको मुहान बाट ल्याईएको खानेपानीले रिमालटार,पुकुन, गेदे, साङ्कोस, तिलाहरा, बगैँचा, नयाँटार, काजीटोल, थरीटोल, सिमपानी, बाईवाङ चपरे लगायतका गाउँका स्थानिय लाभान्वित भएका छन् ।
खानेपानी आयोजना अक्सफाम नेपालको पूर्णिमा परियोजना अन्र्तगत स्थानीय साझेदार संस्था प्रयास नेपाल मार्फत निर्माण गरिएको हो । कुल १ करोड ९४ लाख ७९ हजार १७ रुपैँया लागत रहेको उक्त आयोजनाबाट ३० घरधुरी दलित सँगै १६५ घरधुरी जनजाती र अन्य १३१ घरधुरी गरी समेत गरी ३ सय २६ घरधुरीका करिब २ हजार व्यक्ति लाभान्वित भएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताए ।

श्यामैडाँडा खानेपानी आयोजना अन्र्तगत घरमा धारा जडान भएको धारामा बढि भएको पानीबाट करेसाबारीमा लगाईएको तरकारीमा पानी लगाउँदै
तस्बिर : केशव अधिकारी /धादिङ न्यूज

आयोजनाको निर्माण सम्पन्न भई घरघरमा खानेपानी आएपछि समुदायको मुहारमा देखिएको खुसीलाई निरन्तरता दिन र आयोजनाको दिगोपनाका लागि वडा कार्यालय तथा गाउँपालिका सँग सम्झौता भई उपभोक्ता समितीले खानेपानीको वितरण तथा धारा संरक्षण र व्यवस्थापनको काम गरिरहेको उपभोक्ता समितिका अध्यक्ष रामजी श्रेष्ठले वताउँछन् । गएको जेठबाट शुरु भएको आयोजना फागुनमा सम्पन्न भएको हो ।