भूकम्प पछिको पुनः निर्माणका बिषयमा अन्तरक्रिया

1178 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-भूकम्प पछिको पुनः निर्माणका क्रममा देखिएका समस्या र समाधानका बिषयमा सरोकारवालाहरुका बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भुकम्प पछिका दिनमा भुकम्प पिडित र सरोकारवाला निकाय बिच समन्वय हुन नसक्दा अनुदान लाभग्राहीले भोग्नु परेको समस्या, पुनर्निमाणमा भईरहेको ढिलासुस्ती लगायतका बिषयमा छलफल गरिएको छ ।

कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, जिल्ला समन्वय समिति धादिङका सदस्य कृष्णप्रसाद अर्याल, जिल्ला आयोजना कार्यान्वयन इकाई भवनका गोविन्द ज्ञवाली, जिल्ला आयोजना कार्यान्वयन इकाई वित्त व्यवस्थापनका लक्ष्मी श्रेष्ठ , नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष होमनाथ रिजाल लगायतले सरोकारवाला निकायको तर्फबाट सम्वोधन गर्दै आफ्ना धारणा राख्नु भएको थियो ।

र्यक्रममा जिल्ला स्थित विभिन्न संघ संस्थाका प्रमुख, प्रतिनिधि, भूकम्प पुनः निर्माणका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु, प्राविधिकहरु,पत्रकार लगायातको उपस्थिति रहेको थियो । छलफलका क्रममा कार्यक्रममा उपस्थित वक्ताहरुले आवश्यकताको पहिचान नभइ नीजि आवास निर्माण भईरहेकोे, एउटै घरका धेरै जनाले घर निर्माणका लागि अनुदान पाएको, पुनः निर्माणमा गरिव, विपन्न तथा महिलाहरुको पहुच नपुगेको, भूकम्प पुनः निर्माणमा दिने भनिएको सहुलियत कर्जा वितरणमा पहुचवालाहरुले अवसर पाएको एक कोठा मात्र भएका प्रयोगहीन घरहरु निर्माण भइरहेको बिषयमा गुनासो गरेका थिए ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङ जिल्लामा वर्षभरी गरेका कार्यक्रमको प्रभाव, भावी योजनाका सम्बन्धमा सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम मंगलबार धादिङबेसीमा सम्पन्न गरेको छ । कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका जिल्ला अधिकृत सानुबाबु तिमिल्सिनाले संस्थाले सरोकारवाला निकाय संग सकन्वय गरी धादिङ जिल्लाका विभिन्न स्थानमा सार्वजनिक सुनुवाइ, भूकम्पपछिको आवास पुनः निर्माणको अवलोकन, मिडिया परिचालन,नीतिगत छलफल, अध्ययन प्रतिवेदन सार्वजनिक, भवन निर्माण भईरहेका सरकारी कार्यालयको अवलोकन कार्यक्रमका वारेमा जानकारी गराउनु् भएको थियो । यसै गरी निर्माणाधिन विद्यालय भवन अवलोकन, सहायता कक्षा सञ्चालन, गुनासो संकलन, एकल महिलासँग छलफल, स्वास्थ्य चौकी अवलोकन, होर्डिङ बोर्डको प्रयोग, निर्माण सामाग्री पसलहरुको अनुगमन जस्ता कार्य ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गर्दै आएको वताउनु भएको छ । संस्थाले वर्षभरीमा ७५ वटा यस्ता खाले छलफल, गोष्ठी, सार्वजनिक सुनुवाइ, अवलोकन, अनुगमन लगायतका कार्य गरेको तिमल्सिनाले बताउनु भयो ।