एकै पदका लागि बुवा-छोरा र दाजुभाईको उम्मेद्वारी

692 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एकै पदका लागि बुवाछोरा र सहोदर दाजुभाईले उम्मेद्वारी दर्ता गराएका छन् । डिलाशैनी गाउँपालिकामा कर्ण बहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना( शितलले) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउनु भएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाई पर्छन् । नाताले दाजुभाई परेपनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेद्वारी दर्ता गराएको कर्ण बहादुर रानाले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामी नाताले दाजुभाई हौं । तर राजनीतिक रुपमा फरक विचार भएकाले अलग अलग पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छौं ।’

आइतबार डिलाशैनी गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा दुवै भाई अलग अलग पार्टीबाट उम्मेद्वारी दर्ताका लागि पुगेका थिए । नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराएका लोकेन्द्रबहादुर रानाले भन्नुभयो ‘हामी सहोदर दाजुभाई भएपनि राजनीतिक विचार भिन्न भएकाले अलग अलग पार्टीबाट उम्मेद्वारी दिएका हौं । मेरो राजनीतिक विचार फरक छ दाजुको राजनीतिक विचार फरक छ । त्यसैले अलग पार्टीबाट उम्मेद्वारी दर्ता गरेका हौं ।’

दुवै भाईले एकैपदका लागि उम्मेद्वारी दर्ता गराएपछि परिवारका सदस्यलाई भने भोट हाल्नका लागि समस्या भएको छ । कर्ण राना र लोकेन्द्र रानाका बुवा जञ्जाली रानाले भन्नुभयो ‘दुवै छोराले पहिलादेखि प्रचारप्रसार गरिरहेका थिए । अब उम्मेद्वारी नै दर्ता गरिसके । कसलाई भोट हाल्ने बडो दोधारमा परेको छु ।’
यस्तै जिल्लाको पुरचौडी नगरपालिका वडा नं ७ मा वडा अध्यक्ष पदका लागि बुवाछोराले अलगअलग पार्टीबाट उम्मेद्वारी दर्ता गराएका छन् । नागी साउँद(बुवा) एमालेबाट र उज्ज्वल साउँद (छोरा)ले नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदका उम्मेद्वारी दर्ता गराउनुभएको हो । आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ-आफ्नै पार्टीबाट उम्मेद्वारी दर्ता गराएको नागी साउँदले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीहरु पहिलादेखि नै आ-आफ्नै पार्टीबाट प्रचारप्रसारमा थियौं । सोही अनुसार उम्मेद्वारी दर्ता गर्‍यौं ।’

नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा उम्मेद्वारी दर्ता गराउनुभएका उज्ज्वल साउँदले उम्मेद्वारी दर्ताका बिषयमा बुवासंग कुनै छलफल नभएको बताउनुभयो । अन्नपूर्णसंग उहाँले भन्नुभयो ‘बुवाले आफ्नो पार्टीबाट उम्मेद्वारी दिनुभयो । मैले आफ्नो पार्टीबाट उम्मेद्वारी दिए । यस बिषयमा कुनै सल्लाह नै गरिन् ।’
बुवाछोरा अलग अलग पार्टीबाट एकै पदका लागि चुनावी मैदानमा लड्ने भएपछि परिवारका अन्य सदस्यहरुलाई भने भोट हाल्नका लागि समस्या भएको छ ।