नारायणगढ- मुग्लिङ्ग सडकखण्डमा सडक सुरक्षा जनचेतना अभियान

1098 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गत जेष्ठ १९ गतेबाट नारायणगढ- मुग्लिङ्ग सडकखण्डमा सुरु भएको सडक सुरक्षा जनचेतना अभियानले दसौं दिन पुरा गरेको छ ।

सडक बिस्तारसङ्गै यस सडकखण्डमा बढेको दुर्घटनालाई न्यूनीकरण गर्ने उद्धेश्यका साथ सडक बिभाग नारायणगढ – मुग्लिङ्ग सडक आयोजना एवं जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको सहकार्यमा सुरक्षित र दिगो यात्रा नेपालले सो अभियान संचालन गरेको  ट्राफिक इन्जिनियर तथा सुरक्षित र दिगो यात्रा नेपालका अध्यक्ष हेमन्त तिवारीले जानकारी दिए ।

        कार्यक्रम अन्तर्गत यस सडकखण्ड प्रयोग गर्ने सवारी साधनका चालकहरु , यात्रुहरु , विभिन्न बिद्यालय र स्थानीय समुदायहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएको छ । जेष्ठ २८ गतेसम्म ८५० जना सवारी चालकलाई सुरक्षित यात्रा सम्बन्धी जानकारी दिदै ‘म एक जिम्मेवार चालक र सडक सुरक्षाका लागि मेरा प्रतिबद्धताहरु’ भन्ने स्टिकर प्रदान गरि सवारीमा टासिएको छ भने करिब ४१०० जना यात्रुहरु लाई जानकारी एवं सडक सुरक्षाका पर्चा वितरण र अन्य सडक प्रयोगकर्ताहरुसङ्ग पनि सुरक्षित यात्राका बारेमा अन्तर्कृया भएको छ । मुग्लिङ्ग र नारायणगढमा गरेर दुई ठाउँमा १० जना स्वयंसेवीहरुले दैनिक रुपमा विभिन्न सवारी चालक , यात्रु एवं सडक प्रयोगकर्ताहरुसङ्ग अन्तर्कृया गरीरहेका छन जसलाइ सडक सुरक्षा अभियन्ता प्रदिप नेपाल र निराजन अर्यालले समन्वय गरिरहेका छन । त्यस्तै रामनगर माबि , रामनगरका ७५ , मर्स्याङ्दी शिक्षा सदन ,मुग्लिङ्गका ४० जना र आदिकवी भानुभक्त माबि, नारायणगढका १२० जना विद्यार्थी हरुलाई पनि सडक दुर्घटना र सडक सुरक्षा तथा ट्राफिक नियमका बारेमा जनचेतना कार्यक्रम सम्पन्न भएको छ भने नारायणगढमा शान्तिप्रिय महिला समूहका ८० जनालाई पनि जानकारी र सचेतना सम्पन्न भएको छ । ३५ दिन सम्म संचालन हुने सो कार्यक्रममा नियमित रुपमा आवतजावत गर्ने सवारीका चालक तथा यात्रु एवं पैदलयात्री सङ्ग दैनिक अन्तर्कृया भइरहने छ । सुरक्षित सडक प्रयोगकर्ताको मुल उदेश्यका साथ त्यस सडकखण्डका अन्य ठाउँहरुमा पनि विभिन्न विद्यालय , समुदाय र स्थानीय तहमा कार्यक्रमहरु छिटै संचालन हुने सुरक्षित र दिगो यात्रा नेपालका प्रदिप नेपालले बताए ।