मौसममा विस्तारै सुधार हुँदै

801 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीबारदेखि प्रभावित मौसम शनिबारबाट विस्तारै सुधार हुँदै जान थालेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिकरुपमा सुधार हुँदै गइरहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । आजबाट मौसम पूर्ण सुधार हुने र तत्काललाई अब वर्षा हुने सम्भावना नरहेको पनि मौसमविद् पोखरेलले बताउनु भएको छ ।

शनिवार देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना भएको महाशाखाले जनाएको छ ।

शनिवार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भगामा आंशिक बदली भई पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भएपनि आईतबार विहानबाट मौसम खुल्दै गएको छ ।
आइतबार देशभर आंशिकदेखि सामान्य बदली भई पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि सोमबार देशभर मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।