मै हुँ मौरीबाजे
796 पटक पढिएको
केशव अर्याल
धादिङ, नलाङ गाबिस –७ का केशव अर्याल मौरीपालक किसान हुन् । ०४९ देखि मौरीपालनमा लागेका उनी आमकिसानको परिचयमा मात्रै सीमित भने छैनन् । उनी घारमा मात्र होइन, शरीरमा समेत मौरी राखेर चर्चामा छन् । मौरीकै दाह्री बनाउने, टाउकामा टोपीजस्तो बनाउने, मफलर बनाउनेजस्ता कामले उनलाई चर्चामा ल्याइरहेको छ । मौरीपालनमै जीवन बिताउने सोचका साथ समर्पित अर्यालको मौरी अनुभव यस्तो छ : मौरीपालन व्यवसायमा ०४९ सालदेखि लागिरहेको छु । न्युजिल्यान्ड र तत्कालीन सरकारले संयुक्त रूपमा आयोजना गरेको एकमहिने मौरीपालनको व्यावसायिक तालिम लिएर यो क्षेत्रमा लागेको हुँ । तालिमका वेला देखाइएको एउटा भिडियोले मलाई शरीरमा मौरी राख्ने इच्छा जागेको हो । भिडियोमा एक भियतनामी मौरीपालक पुरुषले मौरीको दाह्री बनाएर निकै समयसम्म राखेको दृश्य देखाइएको थियो । त्यो भिडियो हेरेपछि मैले पनि शरीरमा मौरी राख्न सक्छु भन्ने लाग्यो । ००० तालिम लिएलगत्तै मैले ०५२ सालमा करिब १५ घारजति मौरी राखिसकेको थिएँ । राम्रो काम देखेर होला, सरकारले विदेशी दातासँग मिलेर पहाडी क्षेत्रमा मौरीको खाना, आवास, रोग, मह उत्पादन आदिका बारेमा परीक्षण गर्ने काम मेरै घर आएर एक वर्षसम्म गर्यो । मौरी घारमै पुगेर परीक्षण गर्नुपर्ने भएकाले सानो–तिनो अफिस पनि मेरै घरमा राखिएको थियो । एकवर्षे परीक्षण कालकै अवधिमा एकपटक मेरो घरभन्दा करिब १० मिनेटको दूरीमा रहेको जंगलबाट मौरी ल्याउने कुरा भयो । जंगलको एउटा रुखको टोड्कामा मौरीको घार थियो । मैले त्यही समयमा पहिलोपटक मौरीलाई शरीरमा राखेर आफ्नो घरको घारसम्म ल्याउने जमर्को गरँे । मौरीले मानिसलाई हत्तपत्त टोक्दैन । किनकि, टोकिसकेपछि मौरी मर्छ । अर्को कुरा, मौरीलाई सामान्य रूपमा चलायो भने भाग्दैन, उड्दैन । मौरीको रानो त झन् सोझो हुन्छ । जहाँ राखिदियो त्यहीँ चुपचाप बस्छ । जसले गर्दा सजिलै घारबाट उठाएर रानोलाई शरीरमा ल्याएर राख्न सकिन्छ । रानोमा थेरोमिन नामक गन्ध हुन्छ । यो गन्ध मौरीलाई औधी मनपर्छ । त्यसैले उनीहरू रानोको छेउमै झुम्मिरहन्छन् । मौरीको यही विशेषताका कारण शरीरमा राख्न सम्भव भएको हो । तथापि, मौरीलाई शरीरमा राख्नु चुनौतीपूर्ण काम हो । घारबाट मौरीलाई निकाल्न उचित समय पर्खनुपर्छ । खासगरी बाहिरको मौसम बढी चिसो र तातो भएको वेला मौरीलाई घारबाट झिक्यो भने बढी चिल्छ । बढी चिसो र बढी तातोमा मौरीहरू रिसाउँछन् र चिल्छन् । त्यसैले सकेसम्म बिहान– बेलुकाको चिसो मौसम र दिउँसोको चर्को घाममा मौरीलाई शरीरमा राख्ने काम गर्दिनँ । बिहान आठदेखि नौ बजे र दिउँसो दुईदेखि चार बजेको समय उत्तम हुन्छ । यो वेलाको तापक्रम घारभित्रको तापक्रमसँग मिल्दोजुल्दो हुन्छ । ००० घारमा रहेका मौरी शरीरमा ल्याउन पहिलो धुवाँ लगाएर सासले बिस्तारै फुकेर हटाउनुपर्छ । त्यसपछि रानो टिपेर शरीरमा राख्नुपर्छ । त्यसपछि पनि मौरी सजिलै त आउँदैनन्, पुरानै घारमा फर्किन्छन् । त्यसैले रानो लिएर घारकै नजिक गएर बस्नुपर्छ र घार फर्केका मौरीलाई धपाउँदै बिस्तारै रानो भएको शरीरतिर आकर्षण गर्नुपर्छ । पुरानो घारबाट मौरीलाई धपाउने र शरीरमा तान्ने काम गर्न आधा घन्टासम्म लाग्न सक्छ । शरीरमा करिब ६/७ हजार मौरी आएपछि मात्रै घार छाडेरे हिँड्नुपर्छ अनि बाँकी रहेका मौरी पनि शरीरतिरै आउँछन् । शरीरबाट मौरीलाई घारमा राख्न भने सजिलो छ । हातले बिस्तारै सोहोर्दै घारमा मौरीलाई राख्ने हो । करिब पाँच मिनेटभित्र शरीरमा रहेका मौरीलाई घारमा राख्न सकिन्छ । ००० मौरीलाई शरीरमा राखेर म तीन घन्टासम्म बसेको छु । गत वर्ष काठमाडौंको भृकुटीमण्डपमा घरेलु उद्योग महासंघले गरेको प्रदर्शनीमा सबै स्टल चहार्दै, सबैसँग फोटो खिच्दै हिँड्दा तीन घन्टा बितेको थियो । मानिसको कोलाहलबीच संयमतापूर्वक मैले मौरीलाई दाह्री बनाएर राखेको थिएँ । त्यस्तै, दसैँअघि आयोजना गरिएको मह महोत्सवको वेला पनि एक घन्टा मौरीको दाह्री बनाएर बसेको थिएँ । अन्य समयमा भने आधा घन्टासम्म राख्ने गरेको छु । प्रतिस्पर्धा नै भयो भने त धेरै सकिएला, तर अहिले पनि ६/७ घन्टासम्म मौरीलाई आरामले शरीरमा राख्न सक्छु जस्तो लाग्छ । अविस्मरणीय घटना ०६२/६३ तिर हुनुपर्छ । जेठ महिनामा ठूलो हावाहुरी आएको थियो । जसले धादिङको कोष तथा नियन्त्रण कार्यालयको माथिल्लो भागमा राखेका मौरीको घार तल झारिदिएको रहेछ । घार नै तल झरेपछि मौरीहरू त बिच्किने भई नै हाले । अर्कातिर हावाहुरीका कारण मौसम चिसो भयो । त्यसकारण मौरीले काम गरिरहेका कर्मचारीलाई चिल्न थाले । सुरक्षाकर्मी तैनाथ हुँदासमेत केही लागेन । सुरक्षाकर्मी पनि चारवटा राइफल घारकै छेउमा छाडेर भागेछन् । अन्य कर्मचारीलाई सुरक्षित पारेपछि पनि राइफल झिक्न सकेनछन् । त्यसवेला कता बाट हो, मेरो कुरो सिडिओ र डिएसपीसम्म पुगेछ । त्यसपछि उहाँहरू मेरो सहयोग लिन आउनुभयो । मैले पनि सहर्ष स्वीकार गरँे । प्रस्तुति : अजित अधिकारी / नयाँ पत्रिका दैनिक बाट |