मन्त्रीसंग जनताको एउटै माग “खाना होइन छाना लेउ”

698 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10403397_10206346991731101_5382395961214026944_nधादिङ – वैशाख १२ गते गएको भूकम्पले पुर्याएको जनधनको क्षति स्थानीय स्तरमै बुझ्न गाँउबस्ती पुगेकी नेपाल सरकारको प्रतिनिधि एंव उर्जा मन्त्री राधा ज्ञवाली समक्ष भूकम्पपीडितले खाना होइन छाना लेउ भनेका छन् कारोबार डेलि डट कमले खबर लेखेको छ ।

धादिङ जिल्लाको छत्रेदेराली पुगेकी मन्त्री ज्ञवालीसँग छत्रेदेउराली गाविसका पूर्व अध्यक्ष राजाराम पाण्डेले भने, “हामी छत्रेवासी राजधानी नजीक छौं, हामी व्यावसायीक खेती गरिरहेका छांै, हामीलाई चामल, दाल चाहिदैन । हामीलाई रात कटाउन बस्ने ठाँउ बनाउन जस्तापात पहिला देउ” भनेका छन् । “वर्षा नजिकि सकेको छ, रोड भत्केको छ, रोड बनाई दिए हामी ताजा तरकारी बेचेर चामल खान्छौं ।”

भिमढुंगा लामिडाँडा सडक गोगन पानीसम्म मर्मत गरिदिए छत्रे देउराली, जीवनपुर, केवलपुर र गोगनपानी गाउँ विकास समिति नुवाकोट जिल्लाको चाउथे, कुमरी, ओखरपौवा लगायतका गाँउ विकास समितिका किसानले आफ्ना उत्पादन बजार पुर्याउन सक्ने र बजारको माग तथा आपूर्ति सहज समेत हुने तथा किसानले चामल किनेर खान सक्ने पाण्डेले बताए ।

जिल्ला विकास समिति मार्फत एलजिसिडिपीबाट गाँउ विकास समितिमा तत्कालिन राहत वितरण गर्न पठाएको ९ लाख आएको छ । त्यही पैसाको तेल किन्दा गाविस सचिवले घोटला गरेकोले तत्काल कार्वाही गर्न समेत स्थानीयले माग गरेका छन् । सरकारको स्थानीय प्रतिनिधिका रुपमा रहेको गाविस सचिवले स्थानीयलाई पटक पटक “कुकुर विरालो जस्तासँग कुरा गर्दिन” भन्दै घिन लाग्दो व्यावहार गररेकाले फिर्ता लगि अर्को सचिव पठाउन माग गरेका थिए । अगुवा यूवा विनोद पाण्डेले भूकम्प र त्यस पछिका पाकम्पले ओडारे, लामागाँउ, राम्चे, भट्टराई गाँउ, डाँडागाँउ पहिरोको जोखिममा परेकोले तत्काल वस्ती स्तान्तरण गर्न माग गर्दै खानेपानी व्यवस्था सुचारु गर्न माग गरे ।

मन्त्री ज्ञवालीले नागरिकको संरक्षक सरकार भएकोले क्षतिको हिसाव गरेर पूर्ति गर्न नकसे पनि नागरिकहरुलाई गाँस, वास, शिक्षा, स्वास्थ्यको व्यवस्था मिलाउने दायित्व राज्य तथा सरकारकै भएकाले सरकारले व्यवस्था मिलाउने बताइन् । भूकम्पमा ज्यान गुमाएका परिवारलाई ४० हजार क्रिया खर्च र १ लाख आर्थिक सहायत दिने काम भइरहेको छ । घरवार गुमाएका परिवारलाई पहिलो चरणमा बर्षा अघि १५ हजार अस्थायी बसोवास मिलाउन र घर निमार्ण गर्न बर्खा पछि १ लाख ८५ हजार दिने सरकारले व्यवस्था मिलाएको मन्त्री ज्ञवालीले बताइन् ।

सभासद गुरु प्रसाद वुर्लाकोटीले महाविपतीमा जनता र सरकार सहकार्य गरेर अघि बढ्नु पर्ने बताए । नागरिकका आधारभूत आवश्यकता गाँस, वास, शिक्षा, स्वास्थ्य लगायतको व्यवस्था मिलाउने जिम्म सरकारकै हुने भएकाले सरकारले त्यसको लागि छिटो भन्दा छिटो व्यवस्था मिलाउन उनले माग गरे ।

प्रमखु जिल्ला अधिकारी वासुदेव घिमिरेले महाविपतीमा परेका पीडितले धैर्यधारण गरेर स्थानीयस्तरमा उद्धारमा लागेको र राहत वितरण भएको ढिलाईमा समेत पर्खेर राज्यलाई सहयोग पुर्याएकोमा धन्यवाद दिदैं तेल खरिदमा भएको कमी कमजोरीलाई छानविनको दायरामा ल्याउने, एक हप्ता भित्र अस्थायी वासोवास व्यवस्था मिलाउन पैसा वितरण गर्ने, सडक खानेपानी व्यवस्थालाई सम्वन्धित निकाय मार्फत व्यवस्था मिलाउने बताए ।

अनुगमनमा विभिन्न पार्टीका नेताको समेत सहभागिता रहेको थियो । यसअघि गोगनपानी गाविसका पूर्व अध्यक्ष भरत तामाङले गाविसमा भएको जनधन क्षतिबारे बताउदै अव जनतालाई कसरी ओत लगाउने भन्दै उर्जा मन्त्रीसँग जिज्ञासा राखेका थिए ।
जीवनपुरका अगुवा वालकृष्ण आर्चाय जीवनपुरले भूकम्पमा ६० जना गुमाएको र क्षतिको मुल्याँंकन गर्न नसकिने बताउदै पीडितलाई उचित राहतको व्यवस्था मिलाउन माग गरे । जीवनपुर कै हरी सुवेदीले पीडितले अझ राहत नपाएकोले तत्काल रातह ल्याउन आग्रह गरेका थिए ।