पांच बर्ष देखि जिविस गेटमा डोजर अलपत्र

1384 पटक पढिएको

१ आश्विन २०७१, बुधबार ०६:३४ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
ddc dojar धादिङ– सडक निर्माणका लागि होस या खेतवारी सम्याउन देखि घडेरी मिलाउन मात्रै होइन अन्य कुनै निर्माण कार्य गर्नुपर्दा पनि डोजरको खोजी हुनु सामान्य भईसकेको छ । गाउंमा जनशक्तीको अभाव बढ्दै जांदा निर्माण योजनाका हरेक काममा महंगो भाडा तिरेर पनि डोजरको प्रयोग हुने गरेको भएपनि जिल्ला विकास समिति धादिङ परिसरमा भने पांच बर्ष देखि लाखौं रुपैयाको लगानी परेको डोजर संरक्षणको अभावले थन्किएर बसेको छ ।
सरकारले केही बर्ष अघि सम्म धादिङको जोगिमारामा संचालन गरेको कृषि चुन उद्योगको लागि ढुङगा खानी प्रयोग गरेवापत कृषि चुन उद्योगले २०६७ सालमा जिल्ला विकास समिति धादिङलाई उपलव्ध गराएको डोजर सोही वेला देखि प्रयोग विहिन अवस्थामा पुगेको हो ।
चुनढुङगा खानीमा बर्षौ सम्म प्रयोग भएको डोजर जिल्ला विकास समितिमा आउंदा विग्रिएर कामै नलाग्ने अवस्थामा पुगेको भएपनि पटक पटक मर्मत गरेर चलाउने प्रयास गर्दा ४० लाख भन्दा बढी खर्च भएपछि प्रयोगमा ल्याउनै नसक्ने अवस्थामा पुगेको जिविसले जनाएको छ ।
जोगिमारावाट ल्याएपछि मर्मत गरी जिविसले नलाङ गाविसको ठाँटीभन्ज्याङ सडक खण्ड निमार्णका लागि गाउं पठाउंदा सोही स्थानमा नपुग्दै डोजर विग्रिएपछि करिव १ बर्ष कालुपाण्डे मार्गको ससाहमा राखिएको डोजर तीन बर्ष यता भने जिविसको मुलगेट नजिकै थन्क्याएर राखिएको छ ।
मर्मतका लागि लाखौं रुपैया खर्च हुने र लिलामीका लागि प्रकृया अघि वढाउन डोजर सम्वन्धि कुनै कागजपत्र जिविससंग नभएकोले डोजर अलपत्र हुन पुगेको जिल्ला विकास समितिले जनाएको छ । चुन उद्योगलाई विदेशी अनुदानमा मिलेको डोजर उद्योगले जिविसलाई हस्तान्तरण गरेपनि कुनै कागजपत्र भने नभएको कारण लिलामी प्रक्रिया अघि बढ्न समेत नसकेको हो ।
डोजर मर्मत गरेर पनि चलाउन नसकिने र जिविसमै राखिरहंदा पनि करोडौको सामान विग्रिएर खेर जांदा धेरैको आलोचनाको बिषय वन्न पुगेको हो ।