फुर्केखोला पन्टुन पुल : सरकारी कागजातले भन्छ– पालिकाको पहल, सांसद श्रेष्ठको दाबी सरासर झुट

57 पटक पढिएको

८ मंसिर २०८३, सोमबार ०७:२२ सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

धादिङ । भदौ १० गतेको भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङका आठ स्थानीय तहको सडक सम्पर्क प्रभावित बनेको अवस्थामा धादिङका १३ वटै स्थानीय तहको सामूहिक पहल र सरकारी निकायको समन्वयमा बर्दियाबाट ल्याइएको पन्टुन पुलको जस लिने विषयमा  धादिङका साँसद वोधनारायण श्रेष्ठले गरेको दावी सरकारी अभिलेखले नै गलत सावित गरिदिएको छ ।  स्थानीय तहको पहलमा पुल प्राप्तिको प्रक्रिया अघि बढिसकेपछि धादिङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य वोधनारायण श्रेष्ठले आफ्नो एकल पहलमा पुल ल्याएको दाबी गरेपछि घटनाक्रम र सरकारी कागजातले उनको दाबीमाथि गम्भीर प्रश्न खडा भएको हो ।

पुल प्राप्तिका लागि ज्वालामुखी गाउँपालिकाले कात्तिक ११ गते नै औपचारिक पत्राचार गरेको, स्थानीय तहका प्रतिनिधि र प्राविधिक टोलीले कात्तिक १२ गते फुर्केखोलामा स्थलगत अध्ययन गरेपछि मात्रै कात्तिक १३ गतेको मितिमा  सांसद श्रेष्ठले पत्राचार गरेको देखिन्छ । अझ सांसदको पत्र कात्तिक १३ गते तयार भएको तर त्यसमा कात्तिक ११ गतेकै मिति राखिएको अध्यक्ष यमनाथ दनैको दाबी छ ।

मंसिर ६ गते नीलकण्ठ क्याम्पस धादिङबेसीको स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै सांसद श्रेष्ठले आफूले आफ्नै लेटरहेडमा पत्र लेखेर तोक आदेश गराई पन्टुन पुल ल्याएको दाबी गर्नुभएको थियो । तर, पुल प्राप्तिका क्रममा भएका पत्राचार, सरकारी निर्णय र हस्तान्तरण मुचुल्काले देखाएको घटनाक्रम सांसदको सार्वजनिक दाबीसँग मेल नखाएपछि पुलको जस लिन सांसद श्रेष्ठले गरेको दावी गलत सावित भएको हो ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले मंसिर ६ गते आइतबार धादिङ न्यूजसँगको विशेष अन्तर्वार्तामा पुल प्राप्तिको वास्तविक प्रक्रिया र घटनाक्रम सार्वजनिक गर्दै सांसद श्रेष्ठको दाबी तथ्यसँग मेल नखाने बताउनुभएको छ ।

भदौ १० गतेको भोटेकोशी बाढीले फुर्केखोलामा रहेको पुल बगाएपछि धादिङको सदरमुकाम धादिङबेसीसहित जिल्लाका उत्तरी क्षेत्रका स्थानीय तहको सडक सम्पर्क प्रभावित भएको थियो । राष्ट्रिय राजमार्गअन्तर्गतको महत्वपूर्ण सडक सम्पर्क विच्छेद हुँदा सर्वसाधारणको आवतजावतदेखि खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री ढुवानीसम्म प्रभावित बनेको थियो ।

पुल बगाएको लामो समयसम्म संघीय सरकारबाट पुनर्निर्माण वा तत्कालीन वैकल्पिक व्यवस्थाका लागि ठोस पहल नभएपछि धादिङका १३ वटै स्थानीय तहले वैकल्पिक पुलको खोजी गर्ने सामूहिक निर्णय गरेका थिए । उक्त निर्णय कार्यान्वयन तथा आवश्यक समन्वय गर्ने जिम्मेवारी ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैलाई दिइएको नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगानाले जानकारी दिनु भयो ।

सोही निर्णयअनुसार अध्यक्ष दनैले बर्दियास्थित राजापुर सिंचाइ व्यवस्थापन कार्यालयको संरक्षणमा रहेको प्रयोगविहीन पन्टुन पुल धादिङ ल्याउन पहल गर्नुभएको थियो । स्थानीय तहहरूको सामूहिक आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले सुरु भएको यो प्रक्रिया कुनै एक राजनीतिक दल वा जनप्रतिनिधिको व्यक्तिगत पहलमा नभई स्थानीय तहहरूको संस्थागत निर्णयबाट अघि बढेको नीलकण्ठ नगरपालिकाका प्रमुख ढुंगानाको भनाई छ ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष दनैका अनुसार गाउँपालिकाले कात्तिक ११ गते नै पुल उपलब्ध गराउन राजापुर सिंचाइ व्यवस्थापन कार्यालय, बर्दियालाई औपचारिक पत्र पठाएको थियो । त्यसपछि कात्तिक १२ गते स्थानीय तहका प्रतिनिधि तथा प्राविधिक टोली फुर्केखोलामा पुगेर पुल जडान गर्न सकिने सम्भावनाबारे स्थलगत अध्ययनमा जुटेको थियो ।

स्थलगत अध्ययनका क्रममा प्राविधिक टोलीले फुर्केखोलामा पन्टुन पुल राख्न सम्भव रहेको प्रारम्भिक जानकारी दिएपछि सांसद श्रेष्ठले पुल आफ्नो पहलमा ल्याउन खोजेको देखाउने गरी पत्राचार गरेको अध्यक्ष दनैको भनाइ छ ।

उहाँका अनुसार सांसद श्रेष्ठले कात्तिक १३ गते पत्र तयार गरी कात्तिक ११ गतेकै मिति राखेर जलस्रोत तथा सिंचाइ विभाग, पूर्वाधार विकास मन्त्रालयलगायतका निकायमा पत्र पठाउनुभएको थियो । यदि पत्र कात्तिक १३ गते तयार भएको हो भने त्यसमा कात्तिक ११ गतेकै मिति किन राखियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । पत्रको वास्तविक दर्ता मिति र सरकारी अभिलेखले पनि सांसद श्रेष्ठले पत्र कात्तिक १३ गते दिएको देखिएको छ ।

अध्यक्ष दनैले कात्तिक १२ गते बिहान ७ बजे फुर्केखोलामा स्थलगत अध्ययनका लागि पुग्न स्थानीय तहका प्रमुख तथा अध्यक्षहरूलाई जानकारी गराइएको र उक्त सूचना बाहिरिएपछि रास्वपाका कार्यकर्ताहरू सर्भेस्थलमा उपस्थित भई अवरोध गर्ने प्रयाससमेत गरेको दाबी गर्नुभएको छ ।

पन्टुन पुल प्राप्तिका क्रममा भएका सरकारी पत्राचार र हस्तान्तरणसम्बन्धी कागजातले पुल ल्याउने प्रक्रिया कसरी अघि बढेको थियो भन्ने विषयलाई थप स्पष्ट पारेका छन् ।

ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले २०८३ कात्तिक ११ गते च.नं. ४३३ को पत्रमार्फत राजापुर सिंचाइ व्यवस्थापन कार्यालय, राजापुर बर्दियालाई प्रयोगविहीन अवस्थामा रहेको पन्टुन ब्रिज उपलब्ध गराई सहजीकरण गरिदिन औपचारिक अनुरोध गर्नुभएको थियो । बाढीले पुल बगाएपछि आवतजावत र मालसामान ढुवानीमा परेको कठिनाइलाई पत्रमा मुख्य आधार बनाइएको थियो ।

गाउँपालिकाको मागपछि जिल्ला प्रशासन कार्यालय धादिङले कात्तिक १६ गते च.नं. १०१७ मार्फत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौंलाई पुल उपलब्ध गराउन पत्राचार गरेको थियो । सोही दिन प्राधिकरणको प्रतिकार्य शाखाले च.नं. ११२६ को पत्रमार्फत पन्टुन ब्रिज उपलब्ध गराउने प्रक्रिया अघि बढाएको थियो ।

त्यसपछि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले कात्तिक १६ गते च.नं. ९१६ र कात्तिक १७ गते च.नं. १५७ को पत्रमार्फत जलस्रोत तथा सिंचाइ विभाग, जावलाखेललाई राजापुर सिंचाइ व्यवस्थापन कार्यालयको संरक्षणमा रहेको पन्टुन पुल जिल्ला प्रशासन कार्यालय धादिङलाई उपलब्ध गराउने कार्यमा यथाशीघ्र सहजीकरण गर्न निर्देशन दिएको थियो ।

पुल उपलब्ध गराउन गरिएको मूल माग, जिल्ला प्रशासनको पत्राचार र विपद् प्राधिकरणको प्रक्रियामा स्थानीय तह तथा सरकारी निकायको संस्थागत भूमिका स्पष्ट देखिन्छ ।

राजापुर सिंचाइ व्यवस्थापन कार्यालयको कात्तिक १७ गतेको च.नं. ८८ को पत्राचारपछि कात्तिक १८ गते बर्दियाको मधुवन नगरपालिका–३, कोठियाघाटमा रहेको पन्टुन पुल विधिवत् रूपमा हस्तान्तरण गरिएको थियो । कोठियाघाटमा पक्की पुल निर्माण भएपछि प्रयोगविहीन अवस्थामा रहेको एक सेट पन्टुन ब्रिज, पन्टुन बक्स, र्‍याम्प, र्‍याम्पबे लगायतका सामग्री तथा ६ थान मोटरबोट हस्तान्तरण गरिएको मुचुल्कामा उल्लेख छ ।

राजापुर सिंचाइ व्यवस्थापन कार्यालयका नायब सुब्बा हरिश तिरुवाले उपलब्ध गराएको उक्त सामग्री जिल्ला प्रशासन कार्यालय धादिङको सहमतीमा ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैले बुझिलिनुभएको हो ।

यस हस्तान्तरण प्रक्रियालाई थप महत्वपूर्ण बनाउने पक्ष मुचुल्कामा उल्लेखित रोहवरमा बस्ने व्यक्तिहरू हुन् । पुल हस्तान्तरणको मुचुल्कामा धादिङकी प्रतिनिधिसभा सदस्य सीता थपलिया (उर्मिला), नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना, कान्तिपुर टेलिभिजनका पत्रकार पोषनाथ अधिकारी र गजुरी गाउँपालिका–२ का वडाध्यक्ष द्रोण कँडेलले समेत रोहवरमा हस्ताक्षर गर्नुभएको छ ।

त्यसैगरी राजापुर सिंचाइ व्यवस्थापन कार्यालयका कर्मचारी,  स्थानीय प्रहरी चौकीका प्रतिनिधिसमेत रोहवरमा सहभागी भई हस्ताक्षर गरेका छन् । सरकारी कर्मचारी, जनप्रतिनिधि, पत्रकार र सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा तयार भएको उक्त मुचुल्काले पुल हस्तान्तरणको प्रक्रिया औपचारिक र संस्थागत रूपमा भएको देखाउँछ ।

मुचुल्कामा पुल माग गर्ने निकाय जिल्ला प्रशासन कार्यालय धादिङको सहमतिमा ज्वालामुखी गाउँपालिका रहेको स्पष्ट उल्लेख गरिएको छ । पुल बुझ्ने व्यक्तिका रूपमा पनि ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यमनाथ दनैको नाम र हस्ताक्षर रहेको छ । पुल हस्तान्तरणका क्रममा तयार गरिएको आधिकारिक कागजातमा सांसद वोधनारायण श्रेष्ठले पुल बुझ्ने वा हस्तान्तरण गर्ने व्यक्तिका रूपमा हस्ताक्षर गरेको देखिँदैन ।

यति धेरै सरकारी कर्मचारी, जनप्रतिनिधि, पत्रकार तथा सुरक्षा निकायका प्रतिनिधिको रोहवरमा भएको हस्तान्तरण प्रक्रियालाई बेवास्ता गर्दै पुल आफ्नो एकल पहलमा ल्याएको दाबी गर्नुले वास्तविक प्रक्रियामाथि प्रश्न उठाएको छ ।

अर्कोतर्फ सांसद श्रेष्ठले पुलका लागि आफूले पहल गरेको भए त्यसबारे प्रक्रिया अघि बढिरहेको समयमा किन सार्वजनिक जानकारी गराउनुभएन भन्ने प्रश्न पनि उठेको छ । पुल प्राप्तिका लागि स्थानीय तहले प्रक्रिया सुरु गरिसकेपछि, स्थलगत सर्भे सम्पन्न भएपछि र सरकारी निकायबाट पुल हस्तान्तरण भइसकेपछि मात्र आफ्नो एकल पहलको दाबी सार्वजनिक गर्नुले उहाँको भूमिकाबारे थप जिज्ञासा पैदा गरेको छ ।

फुर्केखोलाको पन्टुन पुल कुनै एक व्यक्ति वा दलको व्यक्तिगत उपलब्धि होइन । बाढीबाट सडक सम्पर्क विच्छेद भएपछि जनताको समस्यालाई तत्काल सम्बोधन गर्न धादिङका १३ वटै स्थानीय तहले गरेको सामूहिक निर्णय, ज्वालामुखी गाउँपालिकाको सक्रियता, जिल्ला प्रशासन कार्यालयको समन्वय, विपद् प्राधिकरणको प्रक्रिया तथा मन्त्रालय र सम्बन्धित विभागको सहजीकरणबाट पुल धादिङ ल्याइएको हो ।

जनताको समस्यामा सबै जनप्रतिनिधि र राजनीतिक दलले सहकार्य गर्नु सकारात्मक कुरा हो । तर, सामूहिक प्रयास र सरकारी संयन्त्रको प्रक्रियाबाट प्राप्त उपलब्धिलाई आफ्नो एकल पहलका रूपमा प्रस्तुत गर्दा वास्तविक योगदानकर्ताको भूमिका ओझेलमा पर्न सक्छ । फुर्केखोलाको पन्टुन पुल प्रकरणमा सरकारी कागजातले देखाएको घटनाक्रम र सार्वजनिक दाबीबीचको अन्तर स्पष्ट पार्नु आवश्यक छ । जनताको समस्या समाधानका लागि कसले के भूमिका निर्वाह गर्‍यो भन्ने विषय प्रचारबाट होइन, तथ्य र प्रमाणबाट स्थापित हुनुपर्छ ।