स्कटल्यान्डमा जनमत सङ्ग्रहको एक दिन अगाडि मतका लागि प्रतिस्पर्धी अभियान

524 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

timthumb7एडिबरा, – स्कटल्यान्डमा स्वतन्त्रताको पक्ष तथा विपक्षमा रहेका कार्यकर्ताहरू बुधबार कडा प्रतिस्पर्धा भएको यस जनमत सङ्ग्रहमा आफ्नो पक्षमा मत प्राप्त गर्न लागिपरेका छन् । यस जनमत सङ्ग्रहले स्कटल्यान्डलाई संयुक्त अधिराज्यबाट विभाजन गर्ने वा उसलाई अधिक स्वायत्तका साथमा नयाँ अधिकार प्राप्त हुने स्पष्ट छ ।

‘‘हुन्छ’’ वा ‘‘हुन्न’’ भन्ने अभियानका हजारौँ स्वयंसेवीहरू उनीहरूको पर्चा वितरण गर्न तथा स्कटल्यान्डभरि प्रचारप्रसार गर्न पुगेका छन् । उनीहरूले हालसम्म आफ्नो मतका विषयमा निर्णय गरिनसकेका मतदातालाइ आफ्नो पक्षमा पार्न प्रयास गरिरहेका छन् ।

बुधबार प्रकाशित तीन अभिमत सर्वेक्षण सबैले संयुक्त अधिराज्यमै रहने भन्ने विषयमा झिनो बहुमत प्राप्त हुने नतिजा दिएका छन् । सर्वेक्षणमा हालसम्म आफ्नो मतका विषयमा निर्णय गरिनसकेका मतदाताले यस जनमत सङ्ग्रहलाई उनीहरूले चाहेको पक्षमा लैजानसक्ने अनुमान गरिएको छ ।

स्कटल्यान्डका जनतालाई लेखिएको पत्रमा स्वतन्त्रता समर्थक प्रथममन्त्री अलेक्स सालमन्डले मतदातालाई बेलायतसँग ३०७ वर्ष पुरानो गठबन्धन अन्त्य गर्ने ऐतिहासिक अवसर प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

पूर्व अर्थमन्त्री एलिस्टेर डार्लिङले यस अभियानमा ‘‘हुन्न’’ भन्ने पक्षको नेतृत्व गर्नुभएको छ र उहाँले स्कटल्यान्डले संयुक्त अधिराज्यमै रहेर छिटो र राम्रो परिवर्तन प्राप्त गर्नसक्ने बताउनुभयो ।

बेलायतका तीन प्रमुख राजनीतिक दलले ‘‘हुन्न’’ भन्ने मतले जितेमा स्कटल्यान्डलाई कर, समाजकल्याणका साथमा अन्य अधिकार प्रदान गरिने बचन दिएका छन् ।

बीबीसी रेडियोमा डार्लिङले आफूहरूले मिलेर संयुक्त अधिराज्य बनाएको, यसको बलबाट प्राप्त गरेको तथा यो सम्बन्ध तोडिएमा दुर्घटना हुने बताउनुभयो ।

स्वतन्त्रताको पक्षमा मतदान भएमा त्यसको दीर्घकालीन प्रभाव रहनेछ ।

यसले प्रधानमन्त्री डेभिड क्यामरुनलाई राजिनामा दिन लगाउनेछ र अन्य पृथकतावादी आन्दोलनलाई बलियो बनाउनेछ ।

स्पेनी प्रधानमन्त्री म्यारियानो राजोयले बुधबार स्कटल्यान्डको अभियान स्पेनको क्याटालोनिया क्षेत्रको जस्तै अभियान भएको र यो युरोपको एकीकरणमा घातक प्रहार हुने बताउनुभयो ।

स्पेनी संसदमा प्रधानमन्त्री राजोयले युरोपका प्रत्येक व्यक्तिले यस प्रक्रियाको वित्तीय तथा आर्थिक रूपमा ठूलो नकारात्मक प्रभाव रहने सोचेको बताउनुभयो ।

–ः ७ ः–

बुधबार प्रकाशन भएका सबै अभिमत सर्वेक्षणका नतिजामा स्वतन्त्रताको पक्षमा मत बढेको देखिएको छ । हालसम्म निर्णय गरिनसकेका मतदातालाई पन्छाउने हो भने ‘‘हुन्न’’ भन्ने पक्षमा ५२ प्रशित र ‘‘हुन्छ’’ भन्ने पक्षमा ४८ प्रतिशत मत पर्ने अनुमान गरिएको छ ।

स्कटम्यान समाचारपत्रका लागि आईसीएम अभिमत सर्वेक्षणमा ‘‘हुन्न’’ भन्ने पक्षमा ४५ प्रतिशत तथा ‘‘हुन्छ’’ भन्ने पक्षमा ४१ प्रतिशत मत रहेको र १४ प्रतिशत मतदाताले अझै निर्णय गरिनसकेको अनुमान गरिएको छ ।

ओपिनियम अनुसन्धान संस्थाले गरेको सर्वेक्षणमा ४९ प्रतिशत व्यक्ति गठबन्धनमा कायम रहने र ४५ प्रतिशत व्यक्ति स्वतन्त्रताको पक्षमा रहेको देखिएको छ । यहाँ छ प्रतिशत मतदाताले अझै निर्णय गरिनसकेको देखिएको छ ।

यसबीच स्कटिस डेली मेलका लागि सर्वेसनले गरेको अभिमत सर्वेक्षणमा ४७.७ प्रतिशतले ‘‘हुन्न’’ भन्ने पक्षमा र ४४.१ प्रतिशतले ‘‘हुन्छ’’ भन्ने पक्षमा मतदान गर्ने देखिएको छ । यस सर्वेक्षणमा ८.३ प्रतिशतले आफूलाई यस विषयमा थाहा नभएको उल्लेख गरेका छन् ।

हुन्छ भन्ने पक्षमा समर्थन बढिरहेको र स्कटल्यान्डको दैनिक जीवनमा यससम्बन्धी छलफल भएकाले यस विषयमा हालका सातामा विवाद गहन भएको छ ।

‘‘हुन्न’’ भन्ने पक्षले स्वतन्ताको पक्षमा मतदान भएमा अर्थतन्त्र अस्थिर तथा जोखिमपूर्ण हुने दाबी गरेका छन् । अर्कोतिर पृथकतावादीहरूले ‘‘हुन्छ’’ भन्ने पक्षमा मतदानले स्वस्थ्य सार्वजनिक क्षेत्र तथा निष्पक्ष सामाजिक कवच प्राप्त हुने दाबी गरेका छन् ।

यस जनमत सङ्ग्रहका लागि हालसम्मकै अधिक मतदाताले आफ्नो नाम दर्ता गराएका छन् । यहाँ कानुनी उमेर पुगेका ९७ प्रतिशत मतदाताले आफ्नो नाम दर्ता गरेका छन् । अधिकारीहरूले जनमत सङ्ग्रहमा उच्च प्रतिशत अर्थात ८० प्रतिशतसम्म मतदान हुने अनुमान गरेका छन् ।

वर्तमान गठबन्धनमा कायम रहने पक्षमा रहेको बेटर टुगेदर अभियानका निर्देशक ब्लेयर म्याकडगलले नतिजा अझै भन्न नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।