साहित्यकारहरु छुट्टाछुट्टै अभियानमा, संरक्षणको अभावले भानुपार्क जिर्ण

942 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC09392धादिङ,-साहित्यिक अभियान सञ्चालनका लागि निर्माण गरिएको जिल्लाको एक मात्र भानु पार्क संरक्षणको अभावले जिर्ण बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति धादिङको विचमा रहेको खाली जग्गामा २०५५ साल श्रावण १२ गते स्थापना गरिएको भानु पार्कको संरक्षणमा सरकारी निकायले वेवास्ता गर्दै आईरहेको छ ।
नेपाली साहित्य क्षेत्रका महान व्यक्तित्व भानुभक्तको योगदानलाई सदैव जिवित राख्न र जिल्लामा हुने साहित्यिक अभियानलाई संचालन गर्ने स्थानका रुपमा वनाईएको भानुपार्कमा भानुभक्तको अर्धकदको शालिक समेत रहेको छ । शालिकको राष्ट्रकवी माधबप्रसाद घिमिरेले अनावरण गर्नुभएको थियो । भानु पार्कको संरक्षणको लागि अहिले सम्म राज्यको तर्फबाट कुनै पहल नभएको भानु प्रतिभा निमार्ण समितिका अध्यक्ष बद्री दाहालले बताउनु भयो ।
देशका विभिन्न स्थानवाट धादिङ बेसीमा आएका अतिथीहरुलाई देखाउने कुनै स्थान नभएकोवेला भानु पार्कको निर्माण गरिएको दाहालको भनाई छ । जिल्ला विकास समिति धादिङको २ लाख, संस्थाका अध्यक्ष बद्री दाहलको तर्फबाट १५ सय १ गोविन्द्रकुमार श्रेष्ठको तर्फबाट २५ सय, टंककुमार श्रेष्ठको तर्फबाट १५ सयका साथै सहयोगी दताहरुको सहयोगमा नगद कुल ३ लाख र अन्य सहयोगमा शालिक सहितको भानु पार्क निमार्ण गरिएको थियो ।
संरक्षणको अभावले गर्दा भानु पार्कको परिसर फोहोर, झारपात, सडेगलेका कपडाहरु र अन्य बस्तुहरु मिल्काउने स्थल वन्दै जांदा पार्कनै कुरुप देखिन थालेको छ । पार्कको अधिकांश सिंढीहरु समेत भत्किईसकेको छ । जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयको बीच भागमा रहेको भानुपार्क दुवै सरकारी कार्यालयवाट समेत उपेक्षामा पर्दै आईरहेको छ ।त्यसो त जिल्लाका साहित्यकारहरु समेत फरक फरक साहित्यिक संस्था गठन गरी छुट्टाछुट्टै अभियान चलाउन थालेपछि भानुपार्कको संरक्षणमा साहित्यकारहरुको समेत चासो कम हुन पुगेको हो । धादिङ जिल्लामा अहिले भानु प्रतिष्ठान, धादिङ साहित्य समाज, धादिङ सिर्जना प्रतिष्ठान,उदभव साहित्य संगम लगायतका साहित्यिक संस्थाहरु कृयाशिल अवस्थामा रहेका छन ।
सदरमुकाममा पहिलो पार्कको रुपमा चिनिएको भानु पार्कको निमार्ण कार्य भएपनि संरक्षणका लागि पहल गर्ने निकाय नहुंदा जिर्ण हुँदै गएको हो । भानु पार्क परिसर भित्र गाई बस्तु चराउने र फोहोर फाल्ने ठाउँ वन्दै गएको छ ।पछिल्लो समयमा धादिङ जिल्लामा साहित्यकारहरुको जमात बढे पनि पार्कको संरक्षण र सरसफाईका लागि भने कसैले चासो देखाएका छैनन ।