पेट्रोलियम पदार्थको मूल्य यथावत
42 पटक पढिएको
काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ। निगम सञ्चालक समितिको सोमबार (कात्तिक ३०) बसेको बैठकले चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै पेट्रोल, डिजेल र मट्टितेलको साबिककै मूल्य कायम राख्ने निर्णय गरेको हो।
इन्डियन आयल कर्पोरेसनबाट कात्तिक २९ गते नयाँ खरिद मूल्य प्राप्त भए पनि मूल्य समायोजन नगरिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विगत केही महिनादेखि मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव आउँदा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन हुन नसकेको निगमले स्पष्ट पारेको छ।
निगमका अनुसार खुद्रा बिक्री मूल्य यथावत राख्दा हालको अवस्थामा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ६२ करोड ७७ लाख रुपैयाँ घाटा हुने देखिएको छ।
निगमको डिपो तथा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि कायम गरिएको यथावत मूल्यअनुसार पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसा कायम छ। त्यस्तै, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा प्रतिलिटर १९९ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौँ, पोखरा र दिपायल) मा प्रतिलिटर २०० रुपैयाँ खुद्रा बिक्री मूल्य यथावत राखिएको छ।







