दहचोकस्थित मनमोहन अस्पतालको स्वामित्व मेडस्टार समूहले लियो, मंसिर १ देखि २४सै घण्टा सेवा सञ्चालन हुने

104 पटक पढिएको

१ मंसिर २०८३, सोमबार २०:४६ सम्पादक: धादिङ न्यूज

काठमाडौँ। काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालको स्वामित्व मेडस्टार समूहले लिएको छ । नयाँ व्यवस्थापन समूहको प्रवेशसँगै अस्पतालले  मंसिर १ गते मंगलबारदेखि आफ्नो सेवालाई विस्तार गर्दै २४सै घण्टा सञ्चालनमा ल्याउने भएको छ ।
यसअघि दैनिक १२ घण्टा मात्र सेवा प्रदान गर्दै आइरहेको उक्त अस्पतालले अब चौबिसै घण्टा आकस्मिक (इमर्जेन्सी), बहिरंग (ओपीडी) तथा विशेषज्ञ परामर्श सेवा उपलब्ध गराउने अस्पतालका सञ्चालक भीमसेन गिरीले जानकारी दिए । उनका अनुसार स्थानीय स्तरमै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ व्यवस्थापनसहित अस्पताल सञ्चालनमा ल्याउन लागिएको हो ।
नयाँ व्यवस्थापनले स्थानीय बासिन्दालाई लक्षित गर्दै विशेष सहुलियतको घोषणासमेत गरेको छ । अस्पताल प्रशासनका अनुसार चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने स्थानीय बिरामीहरूका लागि अर्को व्यवस्था नभएसम्मका लागि चिकित्सकीय परीक्षण शुल्क (डाक्टर फी) नलाग्ने व्यवस्था मिलाइएको छ ।
यस कदमले चन्द्रागिरि नगरपालिका तथा आसपासका धादिङको धुनीबेसी र थाक्रे क्षेत्रका सर्वसाधारणलाई समेत आकस्मिक उपचारका लागि सहरको भित्री भागसम्म धाउनुपर्ने बाध्यता कम हुने विश्वास लिइएको छ । आगामी दिनमा बिरामीको चाप र आवश्यकताअनुसार आधुनिक उपकरण तथा अन्य विशिष्टीकृत स्वास्थ्य सेवाहरू क्रमशः विस्तार गर्दै लगिने अस्पताल प्रशासनले जनाएको छ ।