दुर्घटना रोकथामका लागि धादिङको राजमार्गमा ‘प्रहरी संग एक मिनेट’ अभियान

718 पटक पढिएको

सम्पादक: Dhading News

SAM_5165धादिङ,२२ असोज ः राजमार्ग दुर्घटना न्युनिकरणका लागि धादिङ प्रहरीले ‘प्रहरी संग एक मिनेट’ नाम दिएर बिशेष अभियान शुरु गरेको छ ।
यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथामका बिषयमा सवारी चालकलाई जानकारी दिने उद्धेश्यले मंगलवार देखि धादिङमा पर्ने पृथ्वीराजमार्ग र त्रिभुवन राजपथमा ‘प्रहरी संग एक मिनेट’ अभियान शुरु गरेको हो ।
राधानीवाट वाहिरीने सवारी साधनका लागि त्रिभुवन राजपथमा पर्ने नौविसे गाविसको वडा नम्बर २ बाहुनडांडामा र राजधानी भित्रिने सवारी साधनका लागि पृथ्वीराजमार्गमा पर्ने जोगिमारा गाविसको वडा नम्बर ८ लाल्टिन वजारमा केन्द्र तयार पारी चालकहरुलाई परामर्श दिन थालेको हो । खानीखोला केन्द्रमा साँझ ६ वजे देखि राती ९ वजे सम्म र जोगिमारामा विहान ३ वजे देखि ६ वजे सम्म दैनिक अभियान संचालन गरिने धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भयो ।
मंगलवार वेलुकी ६ वजे वाट शुरु भएको परामर्श कार्यक्रम दैनिक तीन घण्टा संचालन गरिने वताईएको छ । पहिलो दिन खानीखोलामा ३ सय ५८ वटा र दोश्रो दिन जोगिमारामा ४ सय ३१ वटा सवारीका चालकलाई यात्रुको सुरक्षा र सुरक्षित राजमार्गका लागि ट्राफिक नियम र दुर्घटना रोकथामका बिषयमा जानकारी गराईएको पनि मल्लले जानकारी दिनु भयो । । दैनिक तीन घण्टाको दरले एक साता सम्म चल्ने अभियानवाट चालकहरुमा सकारात्मक सन्देश प्रवाह हुने प्रहरीले जनाएको छ । बुधवार प्रहरी नायव उपरिक्षक मल्लको नेत्तृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक नविनराजा बुढाथोकी ,इलाका प्रहरी कार्यालय गजुरीका निरिक्षक हेमन्त भण्डारी क्षेत्री लगायतको प्रहरी अधिकारी सहितको टोलीले चालकहरुलाई परामर्श दिएको थियो । पछिल्लो चार महिनाको अवधिमा धादिङ जिल्लामा पर्ने राजमार्ग खण्डमा २ सय ७८ सवारी दुर्घटना भएको प्रहरीले जनाएको छ ।