१२ जिल्लाका १ सय ७० गाविसमा खाद्यान्न अपुग

745 पटक पढिएको

सम्पादक: Dhading News

chamal
काठमाडौं, -मुलुकका विभिन्न १२ जिल्लाका १ सय ७० गाविसमा खाद्यान्न अपुग भएको छ । स्थानीय उत्पादनले माग धान्न नसकेपछि ती जिल्लामा खाद्यान्न अपुग भएको हो ।नेपाल खाद्य सुरक्षा अनुगमन प्रणाली (नेक्साप) ले गरेको अध्ययनअनुसार खाद्यान्न अपुग भएका जिल्लामा खोटाङका २३ गाविस, भोजपुरका १२, संखुवासभाका ५, तेह्रथुमका ७, ताप्लेजुङका १२, पाँचथरका ८, सप्तरीका ५८, सिरहाका ३१, बाजुराका ४, कालिकोटका ६, दैलेखका ३ र सुर्खेतका १ गाविस छन् ।

खाद्यान्न अपुग हुने गाविस धेरैजसो पूर्वाञ्चल विकास क्षेत्रमा रहेका छन् । अधिकांश गाविसका घरधुरीहरूले परम्परागत खेती प्रणाली अपनाएकाले पनि मागअनुरूप खाद्यान्न उत्पादन नहुँदा अधिकांश गाविसमा खाद्यान्न अभाव भएको हो ।

गत वर्ष धानको उत्पादनमा २५ देखि ४० प्रतिशत ह्रास आएका कारण घरधुरीहरूमा खाद्य सञ्चिति घट्न गएकाले ती गाविसमा खाद्यान्न अभाव रहेको हो । पूर्वी हिमाली र पहाडी जिल्ला (विषेश गरी खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र संखुवासभा) मा घरधुरीको खाद्य आपूर्तिमा हिउँदे बालीको भूमिका न्यून रहने हुनाले यी जिल्लाका केही गाविस यस अवधिमा मध्यमस्तरीय खाद्य असुरक्षित चरणमा परेको नेक्सापको तथ्यांक छ । खोटाङ र भोजपुर जिल्लामा मनसुनी वर्षाले उत्पन्न गराएको यातायातको अवरोधका कारण खाद्य आपूर्तिमा नहुँदा खाद्यान्न अभाव भएको छ ।

त्यस्तै, मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका जिल्लाहरूमा भने खाद्य सुरक्षाको अवस्थामा सुधार आएको छ । भित्रियाइएको हिउँदे बाली (गहुँ र जौ) तथा कृषि र गैरकृषि क्षेत्रबाट भएको आम्दानीले खाद्य सुरक्षामा सुधार आएको तथ्यांक छ । मध्य तथा सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा मौसमी बसाइँसराइका क्रममा भारत गएका व्यक्तिहरू घर फर्किने समय भएको हुनाले त्यस सँगसँगै विप्रेषण पनि भित्रिएको छ ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले आउँदो चार महिनाको अवधिमा १ सय ४३ गाविसमध्ये सप्तरीका ५८, सिरहाका ३१, हुम्लाका १८, जाजरकोटका १२, रुकुमका ७, सल्यानका ८, कालिकोटका ६ र दैलेखका ३ गाविसमा मध्यमस्तरीय खाद्य असुरक्षित अवस्थामा रहने प्रक्षेपण गरेको छ । सप्तरीका ५८ गाविस र सिरहाका ३१ गाविसहरूमा खाद्यान्न असुरक्षा रहने अनुमान गरिएको छ ।

गत वर्ष धानको उत्पादनमा ह्रास आई उल्लेखनीय रूपमा घटेको घरधुरीको खाद्य सञ्चिति यस वर्षको बर्खे बालीको कटानीपछि मात्र परिपूर्ति हुने हुनाले आगामी चौमासिकमा पनि ती गाविसकोे अवस्था मध्यम स्तरीय खाद्य असुरक्षित रहने प्रक्षेपण गरिएको छ । कालिकोट जिल्लामा पनि यस अवधिमा चरण २ मा रहेका गाविसहरू आगामी चौमासिक अवधिमा पनि यथावत् अवस्थामा रहने अनुमान छ । ती गाविसहरूमा हिउँदे बालीको उत्पादन घट्न गई घरधुरीको खाद्य सञ्चिति तीन महिनाका लागि मात्र पर्याप्त हुने निष्कर्ष छ ।

जिल्ला खाद्य सुरक्षा सञ्जालहरूले आउँदो चार महिनाको अवधिमा देशका बाँकी भागहरू न्यूनतम खाद्य असुरक्षित अवस्थामा रहने प्रक्षेपण गरिएको छ ।

-राजधानी दैनिकवाट