धादिङमा कृषिले बाँडेको बीउबाट धान फलेन
943 पटक पढिएको
धादिङ-जिल्ला कृषि विकास कार्यालयले बीउ उत्पादनका लागि भनेर कृषकलाई वितरण गरेको धानमा भुस फलेको छ। कार्यालयले मुल भनेर आगामी वर्षका लागि बीउ उत्पादन गर्न ढुवानी अनुदानमा दिएको बीउबाट धान नफलेको किसानले बताए। यसले आफूहरुलाई घाटा परेको कृषकले गुनासो गरे।उनको तीन रोपनी खेतमा लगाएको रामधानमा दाना लागेको छैन। बाला ठाडो परेको छ। ‘भुसमात्र फलेछ। सत्यानासै भयो,’ श्रेष्ठले भने, ‘कार्यालयले झुक्यायो।’
कुलबहादुरको खेतमा मात्र होइन कार्यालयले वितरण गरेको बीउको धान नफलेर स्थानीय सीताराम श्रेष्ठ पनि चिन्तित छन्। खानीगाउँका यमबहादुर अधिकारी, मित्रमायाँ खतिवडाले पनि रामधान लगाएका थिए। धानमा गेडा नलागेको उनीहरुको गुनासो गरेका छन्।
गत वर्ष रामधान, स्वर्णसब, सावित्री, मकवानपुर जातका ४ टन धानको बीउ किनेर जिल्लाका किसानलाई वितरण गरिएकोमा रामधान १५ क्विन्टल जिल्लामा ल्याइएको र सदरमुकाम वरपरको क्षेत्रमा रामधानमा समस्या देखिएको कार्यालयका प्राविधिक सहायक गोविन्द खनालले बताए।
नीलकण्ठ नगरपालिका वरपरको क्षेत्रमा ढिला वर्षा भएकोले ब्याड ढिला राखेर रोपाइँ पनि ढिलै गरेका कारण उत्पादन नभएको जिल्ला कार्यालयका अर्का प्राविधिक सहायक छविलाल गुरुङले बताए। कृषक भने आफूहरुलाई अरु धान जस्तै तर धेरै उत्पादन हुने भनेर दिइएकोले लोभमा फसेर यो बीउ लगेको बताउँछन्। जिल्ला कृषि विकास कार्यालयले चितवनको मल्ल विज भण्डारबाट बीउ ल्याएको बताइएको छ नागरिक न्युज डट कमले खबर लेखेको छ ।







