धादिङ जिल्लाको राजमार्ग छेउका होर्डिङ वोर्ड हटाईने

701 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
road-advertising-hoardings-250x250धादिङ,-सडक दुर्घटना रोकथामका लागि सडक छेउमा जवरजस्ति राखिएका व्यापारिक प्रयोजनका अश्लिल तथा अन्य बिज्ञापन होर्डिङ बोर्डहरु हटाईने भएको छ । धादिङ जिल्लाको राजमार्ग क्षेत्रमा बढ्दै गएको सवारी दुर्घटना न्युनिकरणका लागि सडक छेउमा राखिएका विभिन्न व्यपारिक होर्डिङवोर्डहरु हटाउन लागिएको हो । यस्ता होर्डिङबोर्डले चालकको ध्यान तान्दा सवारी अनियन्त्रित हुने गरेको तथ्य भेटिएपछि सडक विभागको अग्रसरतामा स्थानीय प्रशासन र प्रहरीले संयुक्त अभियान चलाई यस्ता वोर्ड हटाउने निर्णय गरेको हो ।
चालु आर्थिक बर्षको पहिलो तीन महिनामा धादिङ जिल्ला भित्रको राजमार्ग क्षेत्रमा सवारी दुर्घटनामा कमि आएपनि दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या भने बढेको छ ।
downloadचालु आर्थिक बर्षको साउन देखि असोज मसान्त सम्ममा २१ वटा दुर्घटना भएकोमा १५ जनाको ज्यान गएको छ । दुर्घटनामा परि ४२ जना गम्भिर घाईते भएका छन भने सामान्य अवस्थाका घाईतेको संख्या ६६ जना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक नविनराजा बुढाथोकीका अनुसार अघिल्लो आर्थिक बर्ष भरीमा जिल्लाको राजमार्ग र अन्य ग्रामीण भेगका सडकहरुमा एक सय ५१ वटा सवारी दुर्घटना भएको थियो । अघिल्लो बर्षभरी भएका दुर्घटनामा परि ५५ जनाको ज्यान गएको थियो भने एक सय ७४ जना गम्भिर र दुई सय ७१ जना सामान्य घाईते भएका थिए ।
राजमार्ग र सवारी आवागमन हुने मुख्य ग्रामीण सडकहरुमा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले सरोकारवालाहरुसंग समन्वय गरी जनचेतना अभियान संगै दण्ड जरिवानालाई बढाएपछि दुर्घटनाको संख्या घट्न पुगेको धादिङका ट्राफिक प्रहरी प्रमुख बुढाथोकीले वताउनु भयो । उहांका अनुसार यो आर्थिक बर्षको पहिलो तीन महिनामा सवारी नियमको उल्लंघन गर्नेहरुवाट प्रहरीले ६२ लाख २ हजार ६ सय रुपैया जरिवाना गराई राजस्व संकलन गरेको छ । यसैगरी मापसे गरेर सवारी चालाउनेहरुका बिरुद्ध चेकजांचमा कडाई गरेपछि २१ जना कारवाहीमा परि २१ हजार राजस्व संकलन भएको पनि बुढाथोकीले जानकारी दिनु भयो ।
यसैबिच धादिङ जिल्लामा प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यसनिकरणका लागि स्थानीय प्रशासन, प्रहरी,सडक विभाग,यातायात व्यवसायी तथा यातायात मजदुरहरु सक्रिय हुने भएका छन ।
सोमवार जिल्ला प्रहरी कार्यालय धादिङमा आयोजना गरिएको प्रभावकारी ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्युनिकरण बिषयक अन्तरक्रिया कार्यक्रम पछि जिल्लामा सवारी दुर्घटना न्युनिकरणका लागि शशक्त अभियान चलाउने सहमती भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय धादिङका निमित्त कार्यालय प्रमुख वालकृष्ण पोखरेल, सडक विभागका इन्जिनियर मधुसुदन सांखी, धादिङ यातायात व्यसायी संघका अध्यक्ष अर्जुन गोर्खाली, ग्रामीण यातायात सहकारी संस्थाका महासचिव हरीवहादुर श्रेष्ठ लगायतले सार्वजनिक प्रतिवद्धता जनाएका हुन ।