बालुवाटारमा सहमति भएको होइन : प्रचण्ड

549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,  ८ मंसिर
प्रमुख प्रतिपक्ष एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाका नेताहरूले कांग्रेस–एमालेकै कारण ८ माघमा संविधान जारी गर्ने सम्भावना कम रहेको बताएका छन् । अनौपचारिक छलफललाई कांग्रेस–एमालेले विवादित विषय संविधानसभामा लैजाने सहमति भएको प्रचार गरेको उनीहरूको भनाइ छ ।

काठमाडौंमा २२ दलीय मोर्चाले आइतबार गरेको विकसित राजनीतिक परिस्थिति र संविधान निर्माणका सन्दर्भ विषयक अन्तक्र्रिया कार्यक्रममा नेताहरूले विगतका सहमतिभन्दा पछाडि हटेर ल्याइने संविधान आफूहरूलाई मान्य नहुने स्पष्ट पारे । एमाओवादी अध्यक्ष तथा मोर्चाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शनिबार साँझ बालुवाटारमा भएको तीनदलीय बैठकमा भएको अनौपचारिक कुराकानीलाई कांग्रेस–एमालेले अन्तिम सहमति भनेर प्रचार गरेको भन्दै प्रचण्डले आपत्ति जनाए ।

‘कांग्रेस–एमालेको प्रस्ताव अनुसूचीमा राखेर जानुको विकल्प छैन भन्ने मैले प्रस्ताव राखेपछि तीनदलीय बैठकमा रडाको भयो, सबै कथा अहिले भनिसाध्य छैन,’ प्रचण्डले भने, ‘सभामुखले भोटिङ हुँदैन, भाषा मिलाएर पठाऊँ भनेपछि हुन्छ भोलि २२ दलीय मोर्चाको बैठकमा छलफल गरेर अगाडि बढौँला भनेको थिएँ । तर, कांग्रेस–एमालेले सहमति भयो भनेर एकतर्फी प्रचार गरे ।’

प्रचण्डले बैठकमा आफूले संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा रहेका २० दलसँग छलफल गरेर मात्र सहमति गर्ने स्पष्ट पारेको, तर कांग्रेस–एमालेले सहमति भयो भनेर प्रचार गरेको बताए । ‘मैले कांग्रेस–एमालेका नेताहरूलाई बैठकमै भनेको थिएँ, तपाईंहरूले हाम्रो मोर्चामा सहमति नभई जान सकिँदैन भनेर भनेको कुरालाई सहमति भयो भनेर प्रचार गर्नुहोला नि, हुन पनि त्यस्तै भयो,’ प्रचण्डले भने, ‘आज (आइतबार) कांग्रेस–एमालेका नेताहरूले भन्न थालेका छन्, हामीले सहमति भयो भनेर प्रचार गरेर प्रचण्डलाई हमला गर्न सजिलो भयो, यसले फाइदा नै पुर्‍यायो ।’

प्रचण्डले संवाद समिति बैठक सोमबार राख्न आफूले आग्रह गरेको, तर उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष वामदेव गौतमले जबर्जस्ती गरेर बैठक डाक्न लगाएको पनि दाबी गरे । ‘मैले २२ दल र २० दलमा छलफल गर्नुपर्छ, त्यही भएर संवाद समितिको बैठक पर्सि (सोमबार) राखौँ भनेको थिएँ,’ प्रचण्डले भने, ‘तर, वामदेवले पर्सिबाट गाडीको जोर–बिजोर हुन्छ, बैठक बस्न गाह्रो हुन्छ भनेर दबाब दिएका थिए । अहिले उनीहरू माओवादी सहमतिबाट पछाडि हट्यो भनेर हल्ला गर्न थालिसकेका छन् । त्यसैअनुसार मैले बिहान ८ बजे नै २२ दलको बैठक डाकेको थिएँ । संवाद समितिको बैठक १ बजे बस्ने तय भएको थियो । कांग्रेस–एमालेको गलत प्रचारले सबै समस्या पार्‍यो ।’

प्रचण्डले २२ दलमा सहमति नभई आफ्नो पार्टीले कांग्रेस–एमालेसँग कुनै सम्झौता नगर्ने पनि स्पष्ट पारे । ‘२२ दलसँग सहमति नगरी केही गर्दिनँ,’ उनले भने, ‘यदि २२ दलको सहमति नभई मैले सहमति गर्ने भए सोमबार बिहान ८ बजे किन बैठक बोलाउँथेँ र ?’ कांग्रेस–एमालेले राजनीतिक संयन्त्र तीन पार्टीको बनाउन खोजेको र आफूले मधेसी तथा जनजातिलगायतलाई समेट्न खोज्दा संयन्त्र गठनमा तीन महिना लागेको पनि स्मरण गराए ।

प्रचण्डले एकपटक सडक र संविधानसभाबाट दबाबको तयारीमा रहनुपर्ने वेला आएको पनि बताए । ‘हामीहरू एकपटक तयारीमा जुटौँ, संविधानसभाभित्र पनि संघर्ष गरौँ, बाहिर पनि संघर्ष गरौँ,’ उनले भने, ‘यसो गर्दा या त संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने संविधान बन्छ, या त जनसंघर्षको आँधीबेहरी आउँछ । त्यसैको तयारीमा जुटौँ ।’

प्रचण्डले इतिहासले आफू, माओवादी र २२ दलीय मोर्चालाई अन्तिम अवसर दिएको र यो अवसर उपयोग गर्न नसके आफूहरूको औचित्य सकिनेसमेत बताए । ‘इतिहासले प्रचण्डलाई, माओवादीलाई र २२ दलीय मोर्चालाई अन्तिम अवसर दिँदै छ, हामीलाई प्राप्त अन्तिम अवसर गुम्यो भने हामी औचित्यहीन हुन्छौँ, देश अराजकतामा जान्छ, कांग्रेस–एमाले ०४७ मै फर्कन्छन्,’ प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित गर्ने अवसर छ, मेरा लागि त अन्तिम नै हो, यसैमा तपाईंहरूले विचार गर्नुहोस्, आलोचना वा सहयोग जे गर्न मन लाग्छ त्यही गर्नुहोस् ।’ अहिले परिवर्तनका पक्षपाती पार्टीहरूमा जीवन आउन थालेको भन्दै उनले यस्तो दबाबले जनताको पक्षमा संविधान बनाउन सहयोग पुग्ने बताए ।

फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले विगतमा आफूले कांग्रेसको राजनीति गरेको उल्लेख गर्दै कांग्रेसले कहिल्यै गणतन्त्र र संघीयताको राजनीति नगरेको दाबी गरे । ‘कांग्रेस के चाहन्छ मैले राम्ररी बुझेको छु, मैले विगतमा कांग्रेसकै राजनीति गरेको हो, कांग्रेस कहिल्यै पनि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता परिवर्तनको मुद्दामा थिएन,’ उनले भने, ‘कांग्रेस विगतदेखि नै परिवर्तनको पक्षमा थिएन, अहिले त्यसैको पुष्टि हुँदै छ ।’ कार्यक्रममा मोर्चामा आबद्ध दलका नेता तथा जनजाति अगुवाहरूले पनि आ–आफ्नो धारणा राखेका थिए ।

जहाँतहीँ प्रचण्डको ‘टेन्सन’
एकीकृत माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आफ्नो आलोचना वा समर्थन हुने गरेको बताए । ‘नेपालमा जहाँतहीँ प्रचण्डकै कुरा हुन्छ, युरोपियन युनियन, भारत, चीनमा पनि प्रचण्ड के हो भनेर कुरा हुन्छ,’ उनले भने, ‘सबैलाई प्रचण्ड हैरान भएको छ । म केही होइन भने मलाई किन लखेटनुपर्‍यो ? मेरो भूमिका छ भने स्वीकार गर्नुपर्‍यो ।’

प्रचण्डले जनस्तरमा पनि आफूलाई दुई तरिकाले हेर्ने गरिएको सुनाए । ‘जनताले एकातिरबाट हेर्दा प्रचण्ड आफ्नै लाग्ने, अर्कोतिरबाट खुट्टा कमाएकोजस्तो देखिन्छ,’ उनले भने, ‘पूरै विजय हुन खोजेको भए के हुन्थ्यो त्यतातिर सोचेको पाउँदिनँ ।’ प्रचण्डले पूरै विजय हुन खोज्दा पेरूको क्रान्ति उठ्नै नसक्ने गरी डुबेको भन्दै आफूले कमी–कमजोरी रहे पनि आधारभूत रूपमा ठीक गरेको बताए ।

आफूले सम्झौता गरेकै कारण अहिले देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षताजस्ता विषय छलफलमा आएको पनि प्रचण्डले बताए । ‘अहिले देश संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र, समावेशीलगायतका परिवर्तित मुद्दामा केन्द्रित छ, यदि प्रचण्डले सम्झौता नगरेको भए यस्तो सम्भव हुन्थ्यो ?’ प्रचण्डले भने, ‘सम्झौता नगरेको भए देशमा निरंकुश शासन चलेको हुन सक्थ्यो । जनता अधिकारविहीन हुन्थे । अहिले पनि राजतन्त्र हुन्थ्यो ।’ संसदीय राजनीति गरेका दलहरूलाई विश्वास गर्दा धेरै गुमाएको उनको भनाइ थियो ।

प्रचण्डले गिरिजाप्रसाद कोइरालाको निधनपछि आफूले गुनासो गर्ने व्यक्ति नै नभएको पनि बताए । ‘गिरिजा भएका भए उहाँलाई धेरै कुरा भन्न हुन्थ्यो, उहाँ जानुभयो, मलाई समस्या पर्‍यो,’ प्रचण्डले भने, ‘म जतिवेला पनि टेन्सनमा छु, अरूलाई केही भन्न सकेको छैन । सुशीललाई के भन्ने ? केपीलाई के भन्ने ? उहाँहरूको त यो परिवर्तनमा खास भूमिका थिएन । उहाँहरूलाई भन्नुको तुक पनि छैन ।’