ग्याँस आपूर्ति सहज भएपनि वजारमा भने कृत्रिम अभाव

1019 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0054 copyधादिङ,२३ पुस -खाना पकाउने ग्याँसको वजारमा अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले जिल्ला भित्रका ग्यांस उद्योगहरुको अनुगमन शुरु गरेको छ । अनुगमनका क्रममा धादिङ जिल्लाका आठ वटा उद्योगमा अझै १ सय ८६ मेट्रिक टन ग्याँस जगेडा रहेको पाईएको छ । जिल्लामा संचालित ग्यांस उद्योगवाट नियमित रुपमा राजधानीमा ग्यांस आपूर्ति हुने गरेपनि राजधानीको वजारमा भने ग्यांसको अभाव बढ्दै जानु थप रहस्यपूर्ण भएको स्थानीय प्रशासनले जनाएको छ ।
बुधवार धादिङका सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माको नेत्तृत्वमा गएको जिल्ला अनुगमन समितिको टोलीले पृथ्वीराजमार्ग क्षेत्रमा रहेका ९ वटा ग्याँस उद्योगको अनुगमन गरेको हो । अनुगमनका क्रममा ग्यांस उद्योगहरुले राजधानीमा नियमित रुपमा ग्याँस आपूर्ति गरिरहेको पाईएको थियो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका सुव्वा हरीराम न्यौपाने,प्रहरी निरिक्षक हेमन्त भण्डारीका साथै जिल्लाका संचारकर्मीहरुको पनि सहभागिता रहेको थियो ।
टोलीले जिल्ला भित्र संचालित १४ वटा मध्ये आठ वटा उद्योगमा नियमित उत्पादन क्षमता, आपूर्तिको व्यवस्थाका बिषयमा अनुगमन गरेको थियो । टोलीले बैरेनीको नमस्ते ,भुमेस्थानको ओम र श्रीराम,थांक्रेको श्री,मेट्रो काठमाण्डौं,नौविसेको एचपि,सिदार्थ र सुगम ग्यांस उद्योगको अनुगमन गरेको थियो । राजधानीको वजारलाई ध्यानमा राखी संचालनमा रहेका अधिकांश ग्यांस उद्योगहरुले स्थानीय वजारमा भने ग्यांस बिक्री नगर्ने गरेको पाईएकाले यस बिषयमा सम्वन्धित पक्ष संग तत्काल छलफल गरिने अनुगमन टोलीका प्रमुख सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले वताउनु भयो ।
बुधवार अनुगमन गरिएका आठवटा उद्योगवाट उत्पादित ग्यांस धादिङ जिल्लाको सदरमुकाममा उपलव्ध नहुने गरेको कम्पनीका कर्मचारीहरुले वताए । अनुगमन गर्न बाँकी रहेका उद्योग र जिल्लाका ग्यांस डिलर तथा डिपोहरुको पनि अनुगमन गरिने शर्माले जानकारी दिनु भयो । यसैक्रममा ग्यास उद्योगले सहज रुपमा ग्यांस नदिएको भन्दै कान्तिपुर होटलका संचालकले भुमेस्थानको खयरघारी स्थित ओम ग्यांस उद्योगमा ताला लगाईदिएपछि होटलका संचालक राजकुमार प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएर आईन्दा यस्तो नगर्न सचेत गराएको छ ।