जोगिमारा – अति सिमान्तकृत बर्गमा पर्ने चेपाङ समुदाय आयआर्जनका लागि तरकारी खेती तर्फ आकर्षित हुन थालेका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी लिन थालेपछि चेपाङ महिलाहरुले आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन समेत थालेका छन् । जिल्लाको जोगीमारा गाउँ विकास समितिको वडा नम्वर –२, जवाङका चेपाङ महिलाहरुले तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेपछि आफ्ना बालबालिकालाई नियमित विद्यालय पठाउन थालेका हुन् । गिठ्ठा भ्याकुर जस्ता कन्दमुल खाएर जिविका गर्ने चेपाङले तरकारी खेतीबाट भएको आम्दानीले बालबालिकालाई विद्यालय पठाउने मात्र होइन मिठो खान र राम्रो लाउन सक्ने समेत हुन थालेका छन् । आफ्नो भएको पाखा पखेरामा लगाएको काउली , गोलभेडा, आलु र घ्युसिमी जस्ता तरकारी बेचेर वार्षिक ५० हजार भन्दा बढी आम्दानी हुने भएपछि गाँउको मुहार नै बदलिएको जवाङकी सन्सरी चेपाङको अनुभव छ । तरकारी बेचेर यहाँका चेपाङ किसानहरुले वार्षिक ७५ हजार सम्मको आम्दानी लिने गरेका छन । जवाङ गाउँका अधिकाँश चेपाङ महिलाहरुले आयआर्जनका लागि तरकारी खेती गरेर राम्रो आम्दानी लिन शुरु गरेको भएपनि जिल्लाका अन्य ठाउँका चेपाङ समुदायको अवस्था भने निकै दयनीय रहेको छ ।
चेपाङ महिलाहरु तरकारी खेतीमा
909 पटक पढिएको