धादिङ अस्पताललाई ५० शैया बनाउने बाटो खुल्यो

882 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

SAM_7086धादिङ-लामो समय सम्म सहयोग समिति मार्फत संचालन भईरहेको धादिङ जिल्ला अस्पताल अव विकास समिति मार्फत संचालन हुने भएको छ । यस्का लागि धादिङ अस्पताल विकास समितिको विस्तार गरिएको छ । धादिङ अस्पताल विकास समिति गठन आदेश २०६९ अनुसार नेपाल सरकारवाट समितिको अध्यक्षमा नियुक्त हुनुभएका प्रेमनाथ  सिलवालको अध्यक्षतामा मंगलवार जिल्ला अस्पतालमा बसेको बैठकले समितिलाई पूर्णता दिएकोे हो । धादिङ अस्पताल विकास समिति गठन आदेश २०६९ अनुसार विस्तार गरिएको अस्पताल विकास समितिको सदस्यहरुमा बरिष्ठ जनस्वास्थ्य प्रशासक– जिवनकुमार मल्ल,सहायक प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, जिल्ला अस्पतालका नर्स रिता वोहोरा,जनस्वास्थ्य निरीक्षक शिव राना ,मेडिकल रेकर्डर विनोद दहाल, अस्पतालका मेडिकल सुपरिटेण्डेट रसिला अमात्य, अस्पतालका लेखा अधिकृत लावण्य पोखरेल, स्टोर किपर बिष्णुलाल श्रेष्ठ, रेडियो ग्राफर कल्पना सुवेदी,उपभोक्ता हित संरक्षण मञ्चबाट बेदवहादुर खाँड रहनु भएको छ । गठन आदेशमा तोकिएको व्यवस्था अनुसार प्रतिनिधिहरु समितिको सदस्यमा चयन गरिएको समितिका अध्यक्ष सिलवालले वताउनु भयो । समितिमा रेडक्रस र जिल्ला बिकास समितिका प्रतिनिधिहरुको नाम आउन बाँकी रहेको बताईएको छ । अस्पताल विकास समिति गठन संगै अस्पतालको स्तरबृद्धिका लागि पहल शुरु गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजान ५ लाख भन्दा बढी जनसंख्या भएका जिल्लामा २५ देखि ५० शैयाको अस्पताल बनाउने निति सरकारले अघि सारेपछि जिल्ला अस्पतालको स्तरबृद्धिका लागि केही वाटो खुकुलो भएको हो । स्वास्थ्य मन्त्रालयले ५ लाख भन्दा धेरै जनसंख्या भएका जिल्लामा विशेषज्ञ डाक्टर सहित ५० शैया सम्मको अस्पताल बनाउने निति अघि सारेपछि लामो समय देखि रोकिंदै आएको धादिङ जिल्ला अस्पतालको स्तरबृद्धिको वाटो खुल्न लागेको हो । सरकारको नयाँ नितिअनुसार अहिले देशका ९ वटा जिल्लामा २५ देखि ५० शैयाको अस्पताल बनाउने प्रक्रिया लागू भैसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका शाखा अधिकृत गगनसिंह विष्टका अनुसार नुवाकोट, गोर्खा, बारा, सर्लाही, उदयपुर , सिन्धुली, मकवानपुर, गुल्मी र बर्दियाको अस्पतालको स्तरबृद्धिको कार्य अघि बढिसकेको पनि बिष्टले जानकारी दिनु भयो । यसैगरी इलाम ,धादिङ र डोटीमा ५० शैया अस्पताल बनाउने तयारी अघि बढेको हो । सम्भावित अरु जिल्लामा पनि २५ देखि ५० शैयाको अस्पताल बनाउन अध्ययन भैरहेको मन्त्रालयले जनाएको छ । अस्पतालको स्तरबृद्धिका लागि आर्थिक बर्ष २०७१÷२०७२ मा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले वजेट उप शिर्षक ३७०८०४ मार्फत ५० शैया सम्मका अस्पतालहरुलाई सुदृढिकरण गर्न बजेट विनियोजन गरेको छ ।