खानेकुरा नहुंदा चेपाङहरु बिरामीः चौरासी बालबालिका सिकिस्त

1051 पटक पढिएको

सम्पादक: Dhading News

chepang bal balikaaधादिङ– २६ माघ ः दक्षिणी धादिङको चेपाङ गाउँमा भोकमरीका कारणले आमा र बच्चा कुपोषणबाट ग्रस्त भई बिरामी पर्न थालेका छन् ।

सडकको नछोएको महादेवस्थान गाविसको वडा नं २ की १८ वर्षीया सुदीपा चेपाङलाई गर्भवती अवस्थामा खानेकुरा नपाएर सिकिस्त बिरामी भएपछि सोमबार स्थानीय महादेवस्थान स्वास्थ्य चौकीमा उपचार गराइएको स्थानीय सामाजिक कार्यकर्ता तुलसीजङ्ग थापाले बताउनुभयो ।

आफ्नो करिब एक वर्षीय शिशुसमेत कुपोषित भएको सुदीपाको गर्भमा छ महिनाको बच्चा आइसक्यो तर उनको घरमा खानेकुरा नभएकाले केहीदिनदेखि बिरामी परेर घरमै बस्दै आएकीमा आज स्थानीयवासीको सहयोगमा उनलाई स्वास्थ्य केन्द्रमा पु¥याइएको थियो ।

अत्यन्तै थोरै पाखो बारी भएकाले उनको परिवारलाई मुस्किलले तीन महिनालाई खान पुग्छ । बाँकी समय खान नपुग्ने भएकाले उनको परिवारमा हरेक वर्ष भोकमरी लाग्ने गर्छ । एघारमहिने शिशुलाई पनि स्थानीय पोषण केन्द्रमा लानुपर्नेमा आमासमेत बिरामी परेर हिँड्न नसक्ने भएपछि चेपाङ परिवार बिचल्लीमा पर्दै आएको थियो ।

यो समस्या सुदीपाको मात्र होइन । महादेवस्थानको चेपाङबस्तीमा हरेक वर्ष भोकमरी र यसको असरबाट बालबालिकामा हुने कुपोषण नियमित जस्तै छ । चार सय ६५ घरधुरी चेपाङ समुदायको रहेको महादेवस्थानमा ८४ बालबालिका कुपोषणको सिकिस्त सिकार भएका छन् भने अन्य एक सय ५२ मा पनि कुपोषण भएको तथ्य प्रयास नेपाल नामक गैरसरकारी संस्थाले सङ्कलन गरी सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।

महादेवस्थानको १, २, ३ र ७ नं वडामा बसोबास गर्ने चेपाङ समुदायका यो समस्या आएको प्रतिवेदनका उल्लेख छ । सरकारको गरिबी निवारण कोषको रकम वषौँदेखि सो गाविसको अति गरिबका लागि लेखाजोखाबिना खर्च गरिएको छ । अन्य सङ्घसंस्थाले पनि चेपाङ लक्षित कार्यक्रमअन्तर्गत रकम खर्च गरी उनीहरुको आयआर्जनमा टेवा पु¥याउँदै आएको बताएको बेलामा गत वर्ष सो गाउँमा दुई जनाको भोकमरीका कारण मृत्यु भयो भने बिरामी परेको सङ्ख्या एक सयको हाराहारीमा रहेको स्थानीयावासीले बताएका छन् ।

सिमथलीमा र दाराङमा गरी ३६ घर चेपाङमध्ये ३३ परिवारले आफ्नो उत्पादनले तीन महिनाभन्दा बढी खान नपाउने उनीहरुका घरमा खानेकुरा सकिएको स्थानीयवासी चन्द्रबहादुर चेपाङले बताउनुभयो ।