भारत युएईसँग सजक

838 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पर्थ– पानीजहाज र एयरलाइन्सका कर्मचारीले भरिएको संयुक्त अरब इमिरेट्स (युएई) को विश्वकप टोलीले शनिबार साबिक विजेता भारतको सामना गर्नेछ। पहिलो खेलमा पाकिस्तानलाई ७६ रनले हराएको भारतले दोस्रो खेलमा दक्षिण अफ्रिकालाई १ सय ३० रनले पराजित गरेको थियो। समूह ‘बी’मा ४ अंकका साथ शीर्ष स्थानमा रहेको भारत समूह विजेता बन्दै क्वार्टरफाइनल जाने दाउमा छ।
भारतीया टोलीलाई शनिबारको खलमा प्रशिक्षक डारेन फ्लेचरको साथ भने हुने छैन। उनी दक्षिण अफ्रिकामा ससुराको अन्तिम दाहसंम्कारका लागि दक्षिण अफ्रिकामा हुनेछन्। भारतीय टोली युएईमाथि हाबी हुने देखिन्छ। युएईले पहिलो खेलमा जिम्बावेसँग हारेको थियो भने दोस्रोमा आयरल्यान्डसँग पराजित भएको थियो।
भारतका तीब्र गतिका बलर मोहम्मद सामी भने घुँडामा लागेको चोटका कारण नखेल्ने टोली व्यवस्थापकले जनाएका छन्। सामीले दुई खेलमा ६ विकेट लिइसकेका छन्।

भारतीय ओपनर शिखर धवनले युएईसँगको खेलमा टेस्ट राष्ट्रहरूसँग जस्तै सजक हुने बताए। धवनले पाकिस्तानविरुद्व ७६ रन र दक्षिण अफ्रिकाविरुद्व १ सय ३० रन बनाएका थिए।
‘अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा कुनै पनि टिमलाई हल्का ढंगले लिनुहँदैन,’ धवनले भने, ‘युएईविरुद्वको खेललाई पनि टेस्ट राष्ट्रसँगको खेलमा जस्तै सजग हुनुपर्नेछ।’
युएईले भने विश्वकपमा जित निकाल्न सकेको छैन।
अलराउन्डर कृष्ण चन्द्रन र विकेटकिपर स्वप्निल पाटिल दुवै भारतमा जन्मिएका हुन्। तर खेलजीवनलाई निरन्तर दिनेक्रममा उनीहरूले युएईलाई रोजे, जहाँ उनीहरूले जागिर र क्रिकेट दुवैलाई एकसाथ अगाडि बढाउन सक्थे।
चन्द्रन केरेलाका हुन्। उनले बेङ्लोर कलेज क्लबबाट क्रिकेट जीवन सुरु गरेका थिए। भारतीय क्रिकेट टोलीका स्टुवार्ट बिन्नी पनि त्यसै क्लबबाट खेल्थे।
‘घर फर्कन चाहनेहरूका लागित्यो महत्वपूर्ण क्षण हुनेछ,’ २०१० मा गल्फ राष्ट्र पुगेका ३० वर्षे चन्द्रनले भने, ‘मेरो गाउँ कोलेनगोडको सडकमा मैले टेनिस बलले खेलेको देखिरहेकाहरूलाई विश्वकपमा भारतविरुद्ध खेलेको टिभीमा देख्दा अर्कै अनुभव हुनेछ।’
चन्द्रनले जिम्बावेविरुद्ध ३४ रन बनाउनुका साथै एक विकेटसमेत लिएका थिए। तर उनले आयरल्यान्डविरुद्ध बलिङ र ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गर्न सकेनन्।
त्यस्तै पाटिल भने भारतका अजिन्क्या राहानेसँग मुम्बईमा विभिन्न उमेर समूहमा सँगै खेलेका थिए। राहानेले दक्षिण अफ्रिकाविरुद्ध७९ रन बनाएका थिए। शनिबारको खेलमा पाटिलले राहानेसँग सानोमा बिताएका क्षणहरू सम्झने छन्।
‘सानो छँदा धेरै समय हामी सँगै हुन्थ्यौं। राहाने दाजुभाइजस्तै थिए,’ पाटिलले सम्झे, ‘भारतबाट उता गएपछि हाम्रो सम्पर्क टुट्यो, तर एकपटक दुबई एयरपोर्टमा भेट्दा पुरानै दिन जस्तो भयो।’
युएईका साइमन अनवरले आयरल्यान्डविरुद्ध ८३ बलमा १ सय ६ रन र जिम्बावेविरुद्ध ६७ रन बनाएका थिए। त्यस्तै अलराउन्डर अमजद जाभेदले जिम्बावेविरुद्ध ४२ रन बनाउँदै तीन विकेटसमेत लिएका थिए।
भारतले पनि ब्याटिङमा राम्रो प्रदर्शन गरेको छ, तर कप्तान महेन्द्रसिंह धानीले जितको श्रेय भने फिल्डिङलाई दिएका छन्।
पर्थमा भारतले मिश्रित नतिजा निकालेको छ। ४ खेल जितेको भारतले ६ खेलमा हारेको छ।