छोरा एक वर्षदेखि मलेसियामा बेपत्ता, गाउँमा आमा छिनछिनमा बेहोस
492 पटक पढिएको
धादिङ : चाडैँ नै घर आउँछु भनी फोन गरेको छोरा एकाएक बेपत्ता भएपछि कुम्पुर गाउँ विकास समिति वडा नं ८ की लालमाया श्रेष्ठ आजकाल छिनछिनमा भक्कानिन्छिन्। विदेश जाँदा लागेको ऋण तिर्नको लागि पैसा पठाउँछु भनेर घरमा फोन गरेका दिलबहादुरको अहिले अत्तो–पत्तो छैन। छोरो बेपत्ता भएको खवर सुनेपछि अहिले लालमायाँ छिनछिनमा मुर्छित हुन थालेकी छिन्।बुढा बुबाआमालाई पैसा कमाएर लालनपालन गर्छु भनेर विदेश निस्केका छोरा नफर्केपछि आमा लालमायाँ श्रेष्ठको आँखा एक वर्ष अघिदेखि ओभाएको छैनन्। चारवर्ष अघि वैदेशिक रोजगारीको लागि मलेसिया पुगेका कुम्पुर गाउँ विकास समिति वडा नम्बर ८ का दिल बहादुर श्रेष्ठ विगत एक वर्षदेखि सम्पर्क विहिन भएपछि यता परिवारमा दिनहुँजसो रुवाबासी चल्ने गरेको छ अन्नपूर्ण पोष्ट डट कमले खबर लेखेको छ ।
साहुसँग व्याजीमा ऋण मागेर धेरै पैसा कमाउने र आमा बाबुलाइ राम्रो घरमा राख्ने सपना बोकेर २०६७ सालमा दिल बहादुर मलेसिया गएका थिए । २०७० माघको १४ गते अन्तिम पटक छोरासँग फोनमा कुरा गरेकी लालमायाले रुदै भनिन, ‘एक वर्ष भइसक्यो छोराको बोली सुन्न पाएको छैन। हामीले फोन गर्दा पनि लाग्दैन, मेरो छोरो कहाँ पुग्यो होला, के गर्दे छ होला ?’कोही नौलो मान्छे भेट्यो कि छोराको खोजी गरिदिन लालमाया पटक–पटक आग्रह गर्छिन । विदेश गएको ऋण समेत तिर्न बाँकी रहेको दिल बहादुर श्रेष्ठले पछिल्लोपटक २०७० असोजमा ६० हजार रुपैया पठाएका थिए । त्यसपछि न पैसा पैठाएका छन न टेलिफोनमा नै सम्पर्क भएको छ।
‘एक वर्ष अघिसम्म त फोन गर्नुहुन्थ्यो, सन्चोविसन्चोको कुरा हुन्थ्यो । घरमा वुवा विरामी हुनुहुन्छ, विरामी बुवाको उपचारको लागि भनेर केही पैसा पनि पठाउनु भएको थियो तर छिट्टै फर्कन्छु भनेर फोन गरेदेखि अहिले सम्म न त दाहोर्याएर फोन आएको छ न मान्छे नै देख्न पाइएको छ।’ डिलबहादुरकी भाउजु रजनी श्रेष्ठले भनिन, ‘हरेक महिना अस्पताल लैजानुपर्ने बुवालाइ हिजोआज त अस्पताल लैजाने खर्च पनि छैन ।’ २०७० माघ १४ गते फोन सम्पर्क हुदा छिट्टै पैसा पठाउने र केही महिनामा घर फर्कन बताएका दिलबहादुर त्यसपछि अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्।
गाउँकै दलाली नरेश श्रेष्ठलाइ १ लाख ८० हजार बुझाएर ४ वर्षअघि मलेसिया गएका दिलबहादुर १ वर्षसम्म पनि परिवारको सम्पर्कमा नआएपछि उनका घरपरिवारले खोजी गर्न थालेको छ। दिलबहादुरलाइ विदेश पठाउने दलाल नरेशसंग सोधपुछ गर्दा आफुपनि दिलबहादुरकै खोजी रहेको बताएर सधै पन्छिने गरेको रजनीले बताइन । छोराको खोजी गरिदिनको लागि लालमायाले अहिले सुरक्षित आप्रवासनको क्षेत्रमा काम गरिरहेको सस्था सिड्स धादिङमा निवेदन दिएकी छिन्।
‘दिलबहादुर कुन कम्पनीमा के काम गर्नको लागि भनेर गएको भन्ने कुराको कुनैपनि ठोस प्रमाण नहुदा उनको खोजीमा समस्या परिरहेको छ।’ सिड्स धादिङकी कार्यक्रम संयोजक गंगा सुवेदीले भनिन, ‘हामीले उनलाइ विदेश पठाउने व्यक्तिसंग पनि सोधपुछ गरेका छौ र प्रवासी नेपाली समन्वय समितिमा र मलेसिया स्थित नेपाली दुतावास पनि दिल बहादुरको विषयमा जानकारी गराएका छौ। आशा छ केही पत्तो लाग्छ की !’ दिलबहादुर विदेश जाँदा कुनै पनि कागजपत्र घरमा छोडेर नगएकाले उनको खोजीमा समस्या आइपरेको सुवेदीले बताइन्।