अब बेलुनले बताउनेछ मौसम-असिना, कुहिरो र चट्याङको पनि भविष्यवाणी हुने

855 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Climante_20150322084239काठमाडौ, – जमिनमा राखिएका सामान्य उपकरण हेरेर मौसम भविष्यवाणी हुँदै आएको नेपालमा अब अत्याधुनिक वैज्ञानिक उच्च प्रविधिको ‘राडार’ र ‘बेलुन’ ले बताउने भएको छ, मौसमका कुराहरू । यो यस्तो प्रविधि हो, जसले बादलमा पानी पार्ने वाष्प कति छ भनेर मात्रै बताउँदैन, कहाँ कति पानी पर्छ ? असिना पर्छ कि पर्दैन ? सबै प्रस्ट पार्नेछ । त्यति मात्र होइन, कुहिरो र चट्याङको समेत भविष्यवाणी गर्नेछ ई कान्तिपुर डट कमले खबर लेखेको छ ।

तीव्र तयारी भइरहेको यो प्रविधि र उपकरणलाई आगामी आर्थिक वर्षबाट मात्र प्रयोगमा ल्याइनेछ । सार्कको स्ट्रोम प्रोग्रामअन्तर्गत जल तथा मौसम विज्ञान विभागले डेढ करोड रुपैयाँ लागतमा ‘रेडियो सोन्डे’ नामको बेलुनजस्तै उपकरणसहितको प्रविधि अपनाउन लागेको हो । उपकरण भारतबाट ल्याइने छ । ‘वायुमण्डलको तापक्रम, हावाको अवस्था, गति, दिशा, सापेक्षिक आदर््रता, प्रेसरलगायत थाहा पाउन सेन्सरजडित बेलुनको प्रयोग गर्दैछौं,’ विभागका महानिर्देशक डा.ऋषिराम शर्माले शनिबार कान्तिपुरसँग भने, ‘सेन्सर जिपिएसमा जोडिने भएकाले माथिको डाटा सजिलै लिन सकिन्छ र प्रभावकारी फरकास्ट गर्न सकिनेछ ।’

मौसमी भविष्यवाणी फेल खाँदा/नमिल्दा यो वर्ष ‘हुदहुद’ नामको आँधीका कारण अन्नपूर्ण पदयात्रामा ठूलो संख्यामा मानव र धनको क्षति भएको थियो । यस्तै, बर्दिया र सुर्खेतमा एकैपटक भारी वषर्ा हुँदा जनधनको ठूलो क्षति भएको थियो । ‘नयाँ प्रविधि जडानले सम्भावित क्ष्ाति न्यून गर्न सहयोग पुग्नेछ,’ उनले भने ।

पहिलो चरणमा उक्त प्रविधि काठमाडौंमा प्रयोगमा ल्याइनेछ भने मुलुकका अन्य दुई सहरमा समेत राखिनेछ । बिहान ५ः४५ र बेलुकी ५ः४५ बजे गरी दुई पटक त्यस्तो बेलुन वायुमण्डलमा छाडिनेछ ।

‘बेलुनले जमिनबाट २० किलोमिटर माथिसम्मको मौसमी अवस्था रेकर्ड गरेर पठाउँछ,’ शर्माले भने । बेलुन एक पटकमात्रै प्रयोग हुनेछ र आकाशमै फुट्ने छ । त्यस्तो बेलुन दिनहुँ उडाइनेछ ।

ad1अहिले जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले सतहमा बगेको हावा, बादल, तापक्रम, सापेक्षिक आदर््रतालगायतलाई आधार मानेर मौसम भविष्यवाणी गर्दै आएका छन् । महाशाखाले हवाई उड्डयन, पर्यटन -ट्रेकिङ), कृषि, सञ्चार माध्यमलगायतलाई मौसमी सूचना दिन्छ । विभागका मौसमविद् सन्नी महर्जनका अनुसार एक पटक बेलुन उडाउँदा डेढ सय डलर -करिब १५ हजार रुपैयाँ) भन्दा बढी खर्च हुनेछ । बेलुनसँगै सेन्सरलगायतका उच्चस्तरका उपकरणसमेत गुम्ने भएकाले खर्च बढी लाग्नेछ ।

काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यले बेलुन प्रयोगले कुहिरोको समेत भविष्यवाणी गर्न सकिने बताए । ‘माथि र तलको तापक्रम, गति, प्रेसरलगायत थाहा पाउन सकिने भएकाले गड्याङगुडुङ र बिजुली कहाँ चम्कन्छ भन्ने पनि थाहा पाउन सकिन्छ ।’ चट्याङको समेत भविष्यवाणी गर्न सकिने भएकाले सम्भावित दुर्घटनाबाट बच्न सकिने छ ।

विभागले जलवायु परिवर्तन समानुकूल रणनीतिक कार्यक्रम -पीपीसीआर) अन्तर्गत मौसमको अवस्था रेकर्ड गर्ने अत्याधुनिक ‘राडार’ समेत जडान गर्दैछ । ‘राडारले बादल र वायुको गति, असिना पर्ने/नपर्ने, तापक्रमको अवस्थालगायत मोनिटरिङ गर्छ,’ महानिर्देशक शर्माले भने, ‘राडारले दुई सय किलोमिटरसम्मको मौसमी अवस्था रेकर्ड गर्छ, चारवटा राडारले सिंगै मुलुक कभर गर्छ ।’

भोजपुरको ट्याम्के डाँडा, उदयपुरको उदयपुरगढी, पाल्पाको रिस्तीकोट र सुर्खेतको रेडियो गुराँसेडाँडामा त्यस्तो राडार जडान गरिनेछ । त्यस्तै राजधानीलाई केन्दि्रत गरी बबरमहलस्थित विभागको छतमा समेत १५ देखि २० किलोमिटर कभर गर्ने गरी राडार जडान गरिनेछ । ठूला चार र सानो एउटा गरी पाँच राडारका लागि २५ देखि ३० करोड रुपैयाँ खर्च हुनेछ । राडार नेपालसहित भारत, बंगलादेश र भुटानमा पनि जडान गरिँदै छ । यसअघि यस्तो राडार भारतमा समेत जडान गरिएको थिएन । ‘राडारले बादलमा पानी पार्न सहयोग गर्ने जलवाष्प कति छ भन्नेसमेत जानकारी दिने भएकाले कहाँ कति पानी पर्न सक्छ, असिना पर्छ कि पर्दैन, कुन क्षेत्रमा भारी वषर्ा हुन्छ भन्नेजस्ता मौसमी भविष्यवाणी गर्न सकिने छ,’ शाक्यले भने ।

पीपीसीआर परियोजनाअन्तर्गत उच्च प्रविधिका उपकरण जडान, क्षमता अभिवृद्धि, जनशक्ति थप र सेवा विस्तारलाई जोड दिइएको छ । यो २५ मिलियन डलर (२५ करोड रुपैयाँ) को परियोजना हो । विभागमा उच्च प्रविधिलाई सञ्चालन गर्न जनशक्ति बढाएर २ सय ३३ बाट ३ सय ५० जना पुर्‍याउने गृहकार्य भइरहेको छ ।