एमाले नेता रामनाथ ढकाललाई स्वाइन फ्लु
780 पटक पढिएको
काठमाडौं : नेकपा एमालेका पोलिट्ब्युरो सदस्य रामनाथ ढकालालाई स्वाइन फ्लुको संक्रमण भएको छ । केही दिनदेखि रुघाखोकीले च्यापेपछि शुक्रबार आफैं कार हाँकेर उपचारका लागि पुगेका ढकालको स्वास्थ्य परीक्षणपछि धापासीस्थित ग्रान्डी अस्पतालका चिकित्सकले उनलाई स्वाइन फ्लु भएको पुष्टि गरेका हुन् ।रुघाखोकीसँगै निमोनियाले समेत च्यापेपछि सिकिस्त भएका नेता ढकालको अहिले ग्रान्डी अस्पतालकै इमरजेन्सी वार्डको आईसीयूमा राखेर उपचार भइरहेको छ । ग्रान्डी अस्पतालका चिकित्सकले नेता ढकालमा निमोनियासँगै स्वाइन फ्लु भएको पुष्टि गरेको अस्पताल प्रशासनले जनाएको छ ।
नेता ढकालको स्वास्थ्य अवस्थाबारेमा आइतबार बिहान जानकारी गराउने तयारी चिकित्सकहरुले गरेका छन् । एमाले नेता विष्णु रिमालले नेता ढकालको स्वास्थ्य अवस्था गम्भीर रहेको बताउँदै उनलाई उपचारका लागि दिल्ली लाने तयारी भइरहेको जानकारी दिए ।
नेता ढकालको स्वास्थ्य परीक्षण ग्रान्डी अस्पतालका चिकित्सक अर्जुन कार्कीले गरेका थिए । डा. कार्कीले स्वास्थ्य परीक्षण गरेपछि नेता ढकालमा स्वाइन फ्लुको पुष्टि भएको हो । ढकालको शरीरमा अक्सिजन र ह्वाइट ब्लड सेलको मात्रा अत्याधिक घटेको छ । उनलाई अहिले इमरजेन्सी वार्डको आईसीयूमा राखेर चिकित्कले अक्सिन दिइरहेका छन् ।
केही दिनअघिसम्म पाल्पासहितका जिल्लामा भएका एमालेको कार्यत्रममा सहभागी भएका ढकाल काठमााडौं फर्केलगत्तै उपचारका लागि शुक्रबार दिउँसो ३ बजे ग्रान्डी पुगेका थिए । क्षयरोगको समेत नियमित औषधि खाइरहेका ढकाल शनिबारै स्वास्थ्य परीक्षणका लागि दिल्लीस्थित मेदान्ता अस्पाल जाने तयारीमा थिए ।
नेता ढकाललाई निमोनियासँगै स्वाइन फ्लुको पनि संक्रमण भएपछि थप उपचारका लागि आइतबार एयर एम्बुलेन्सबाट दिल्ली लाने तयारी भएको छ । एयर एम्बुलेन्स आउने टुंगो भइसकेकाले आइतबार दिउँसो २ बजे उनलाई उपचारका लागि दिल्ली लान लागिएको हो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।
–







