पहिरोको जोखिम अध्ययन गर्न धादिङमा पनि खटिए भूगर्भविद्

596 पटक पढिएको

सम्पादक: Dhading News

kavrepahiro2धादिङ , जेष्ठ ३० भूकम्पले जमिन धाँजा फाटी पहिराको जोखिममा रहेका १६ जिल्लामा खानी तथा भूगर्भ विभागले सभासद्को संयोजकत्वमा गठन भएको बस्ती स्थानान्तरण समिति मातहत रही अध्ययन गर्न भूगर्भविद् खटाएको छ । धादिङ लमजुङ, गोरखा, , नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, तनहुँ, खोटाङ र ललितपुरमा भूगर्भविद् खटाइएको छ ।

विभागका महानिर्देशक सर्वजितप्रसाद महतोले भन्नुभयो, “काठमाडौँको शङ्करापुर नगरपालिकाको नाङ्लेभारेमा शनिबार दुई जना भूगर्भविद् अध्ययनका लागि जान लागेका छन्, सबै जिल्लामा विभागकै भूगर्भविद् पठाइएको छ । ” यही जेठ ३२ गतेसम्म द्रुतगतिको भौगर्भिक अध्ययन गरी आगामी असार २ गते गृह मन्त्रालयमा प्रतिवेदन पेस गर्न लागिएको विभागले जनाएको छ ।

बस्ती भएका स्थानको भौगर्भिक अध्ययन गरी सार्न आवश्यक भए÷नभएको प्रतिवेदन पेस गर्ने एकसूत्रीय अभियानका लागि विज्ञलाई सभासद्को नेतृत्वको समूहमा पठाइएको हो । मनसुन सुरु हुनु अगावै जोखिममा रहेका बस्ती सार्ने उद्देश्यले छिटो अध्ययन गराउन लागिएको विभागले जनाएको छ । जिल्ला गएका विज्ञलाई प्रजिअको सरुवा भएकाले आवश्यक सामग्री जुट्न गाह्रो भएकाले समस्या परेको गुनासो आएको छ ।

“बुधबार सोलुखुम्बुको दूधकोसीमा अप्रत्याशित रुपमा बाढी आएको र त्यस दिन पानी पनि नपरेकाले सानो हिमताल फुटेको हुन सक्ने आशङ्कामा विज्ञबाट स्थलगत अध्ययन गराउन लागिएको हो” शर्माले भन्नुभयो ।

हिमताल फुट्ने उच्च जोखिममा रहेकाले सोलुखुम्बुको इँजा हिमताल र दोलखाको च्छो रोल्पा हिमतालको समेत अध्ययन गराउन लागिएको विभागले जनाएको छ । शनिबार पनि मौसम सफा नहुने पूर्वानुमान भएकाले आइतबार मात्र समूह स्थलगत अध्ययनका लागि जाने छ ।