राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशवकुमार विष्ट

839 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा केशवकुमार विष्टलाई नियुक्त गरेका छन् । विष्टले बिहीबार नै राखेपमा प्रहरीको उपस्थितिमा पदभार ग्रहण गरेका छन् । विष्टलाई राखेपको सदस्य सचिव पदमा नियुक्ति गर्नुअघि संघको कोटाबाट राखेपको सदस्यमा नियुक्ति गरेका थिए । संघको कोटाबाट नियुक्ति भएर सदस्य सचिव भएको यो राखेपको इतिहासमा पहिलोपल्ट हो । मन्त्रिपरिषद्ले राखेपको बोर्ड सदस्यमा नियुक्ति गरेका व्यक्तिबाट सदस्य सचिवमा नियुक्ति गर्ने गरिन्थ्यो ।

5a968804a039e75b096709e92eb073a7

युवा तथा खेलकुद मन्त्रालयले विष्टलाई खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा (२ घ) बमोजिम राखेपको रिक्त रहेको सदस्य पदमा मनोनयन गरेको बताएको छ । विष्ट नेपाल सेपाक ताक्रो संघका कार्यवाहक अध्यक्ष हुन् ।

राष्ट्रिय खेल संघमध्येबाट परिषद्को सदस्यमा तीनजना मनोनीत हुने प्रावधान छ । सोही प्रावधानअनुसार नेपाल पौडी संघका सदस्य राजेन्द्र श्रेष्ठ (राजु) र अखिल नेपाल फुटबल संघका सदस्य महम्मद समिउल्लाहलाई पनि बिहीबारै परिषद्को सदस्यमा मनोनीत गरिएको छ ।

‘खेलकुद विकास ऐन, २०४८ को दफा ३ को उपदफा (३) बमोजिम मिति २०७२÷०३÷१० देखि लागू हुने गरी र सदस्य पदमा वहाल रहने अवधिभरका लागि तपाईंलाईं राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा नियुक्त गरेको छु ।’ राखेपका अध्यक्ष युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले आफँैले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा होमिएका विष्ट नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघको कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् । विष्ट २०५४ सालमा सुनसरी जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष भएका थिए । त्यसपछि २०६४ सालमा विष्ट पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्ष बनेका थिए । सुनसरीको इटहरी उपनगरपालिका निवासी ४९ वर्षीय विष्ट तीन दाजुभाइमध्येका कान्छा हुन् ।

विष्ट २०५९ देखि ६२ सालसम्म इटहरी नगर कमिटीका प्रमुख तथा २०६२ देखि ६८ सालसम्म सुनसरी जिल्ला कमिटीका सदस्य थिए । विष्ट २०६८ सालदेखि हालसम्म राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्य छन् ।

कार्यकाल स्वर्णिम बनाउँछु ः विष्ट

नवनियुक्त सदस्यसचिव विष्टले आफ्नो कार्यकाललाई स्वर्णिम बनाउने घोषणा गरेका छन् । उनले त्यसका लागि छिट्टै योजना बनाउने समेत बताए । ‘म मेरो कार्यकाललाई स्वर्णीम बनाउन चाहन्छु, त्यसका लागि सबैको सहयोग चाहिन्छ ।

राखेपमा नयाँ सदस्य सचिव आउनेबित्तिकै संघहरु त्रसित हुने वातावरण रहेको सन्बन्धमा सोधिएको प्रश्नमा उनले भने, ‘मसँग कुनै संघ त्रसित हुनुपर्दैन । म नियमविपरीत मुद्दा लाग्ने काम केही गर्दिनँ ।’ उनले खेलकुदमा देखिएको विवाद अन्त्य गर्दै अगाडि बढ्ने बताउँदै चाँडै आफ्नो टिमसँग छलफल गरी चारबर्से कार्यकालमा गर्ने कामको श्वेतपत्र जारी गर्ने घोषणा गरे । सदस्य–सचिव विष्टले आफ्नो नियुक्ति राजनीतिक भए पनि खेलकुद परिषद्को सदस्य सचिवको नाताले सबैसँग मिलेर खेलकुदको साझा विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले विगतका जुनसुकै सदस्य सचिवले गरेका राम्रा कामलाई अगाडि बढाउने र नराम्रालाई सच्याउने बताए । उनले नियुक्तिमा नै विवाद भएको प्रसंगमा उनलेभने, ‘सानातिना विवादलाई चिर्दै अगाडि बढ्नुपर्छ ।’ उनले नेपाल ओलम्पिक कमिटीको विवाद सहजै अन्त्य हुने बताए । तर, उनले ओलम्पिकको विषयमा सर्वाेच्चले दिएको निर्देशनलाई सम्मान गर्ने बताए ।

विष्ट अघि खेलकुद मन्त्रालयले राखेपकी सदस्य शकुन्तला नगरकोटीलाई अर्को व्यवस्था नभएसम्मका लागि ३२ जेठमा सदस्य सचिवमा नियुक्त गरेको थियो ।

-राजधानी