रानीबारी हत्याकाण्डका अभियुक्त समात्ने प्रहरीलार्इ पुरस्कार

626 पटक पढिएको

सम्पादक: Dhading News

 radiko xoroचर्चित रानीबारी हत्याकाण्डका अभियुक्त समात्ने प्रहरीलाई गृहमन्त्री बामदेब गौतमले नगदसहित शुक्रबार पुरस्कृत गरेका छन् ।गत जेठ ३१ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार रानीबारी हत्याकाण्डको अनुसन्धानमा संलग्न डिआईजी हेमन्त मल्ल ठकुरी, डिएसपी भीमबहादुर दाहाल तथा इन्सपेक्टरहरु महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई गृहमन्त्री गौतमले पुरस्कृत गरेका हुन् ।

गृहमन्त्री गौतमले गृहमन्त्रालयमा शुक्रबार आयोजित एक कार्यक्रममा डिआर्इजी मल्ललाई ३० हजार नगद र सम्मानपत्र प्रदान गरे ।

त्यसैगरी डिएसपी भीमबहादुर दाहाललार्इ २५ हजार तथा इन्सपेक्टरहरु महेश बस्नेत र दिपेन्द्र अधिकारीलाई सरकारले २२/२२ हजार रुपैयाँबाट र सम्मान पत्र प्रदान गरियो ।

पुरस्कृत प्रहरी अधिकृतले लामो अनुसन्धनापछि काठमाडौंको रानीबारीमा १२ वर्ष अघि भएको हत्याकान्डमा संलग्न अभियुक्तहरु मनराज गुरुङ र प्रमेश चौहानलाई २०७१ चैत १ गते पक्राउ गरेका थिए ।


पुरस्कार प्रदान गरेपछि सामूहिक फोटो खिचाउँदै
२०५९ असार ३१ गते बिहान ६ बजे काठमाडौं मनपा-३ रानीबारीस्थित गीता खड्काको घरमा ओछ्यानमै खुकुरी प्रहार गरी दम्पतीको विभत्स हत्या गरिएको थियो।हत्याराले रानीबारीस्थित गीता खड्काको घरको भुइँतलामा भाडामा बस्दै आएका इन्जिनियर हेमन्त श्रेष्ठ र उनकी पत्नी अञ्जलीको खुकुरीले काटेर हत्या गरेपछि उनीहरुकी ७ वर्षीया छोरीलार्इ पनि हत्या प्रयास गरेका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख डिआइजी हेमन्त मल्ल ठकुरीले निकै लामो अनुसन्धान र निरन्तरको प्रयासपछि  अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको बताएका थिए ।

रानीबारी हत्याकाण्डका दुई अभियुक्त मनराज गुरुङ र प्रमेश चौहानलाई पुर्पक्षका लागि थुनामा राख्न काठमाडौं जिल्ला अदालतले २०७१ चैत २६ गते आदेश दिएपछि उनीहरु हाल जेलमा छन् ।

घटनाको छानबिन तथा अभियुक्तको खोजी गर्न प्रहरीले पटकपटक कार्यदल बनाए पनि प्रहरीले अभियुक्त पहिचान गर्न सकेको थिएन । रानीबारी हत्याका अभियुक्त पक्राउ गर्न नसकेकोमा प्रहरीको आलोचना पनि भएको थियो ।

प्रहरीले सो घटनाको टुंगो लगाइ अपराधी पक्रन बनाइएका १६ वटा अनुसन्धान टोली असफल भएको अवस्थामा डिआर्इजी मल्ल नेतृत्वको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले हत्यामा संलग्नलार्इ पक्रन सफल भएको थियो ।

घटनामा संलग्न दोलखा निवासी मनराज गुरुङ र रामेछाप निवासी प्रमेश चौहानलाई काठमाडौबाट २०७१ फागुन २९ गते व्यूरोका डिएसपी भीमबहादुर ढकालको नेतृत्वमा रहेका इन्सपेक्टरहरु महेस बस्नेत र दिपेन्द्र अधिकारीसहितको टोलिले पक्राउ गरेको थियो ।