नेपाल विश्व वरियतामा

576 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल ट्वान्टी–२० अन्तर्राष्ट्रियको विश्व वरियतामा प्रवेश गरेको छ । शुक्रबार नेदरल्यान्ड्ससँगको चार खेलको शृंखला पूरा गरेसँगैं नेपालले अन्तर्राष्ट्रिय क्रिकेट (आईसीसी) को महत्वपूर्ण उपलब्धि हात पारेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को आगामी नयाँ वरियतामा अव नेपाल पनि समेटिने छ । कान्तिपुर दैनिकमा समाचार छ ।
नेपालले शनिबार अन्तिम खेलमा घरेलु टोली नेदरल्यान्ड्सलाई ३ विकेटले पराजित गर्‍यो । यद्यपि नेपालले शृंखला ३–१ ले गुमायो । नेपाल पहिलो तीन खेलमा क्रमश: १८, १ सय ३ र १८ रनले पराजित भएको थियो ।
विश्व वरियतामा प्रवेश पाउन कम्तिमा ८ खेल खेल्नुपर्ने प्रावधान छ । नेपालले गतवर्ष बंगलादेशमा विश्व ट्वान्टी–२० मा तीन खेल खेलेको थियो । त्यसमा हङकङ र अफगानिस्तानसँग विजय हात पार्दै जुझारु प्रदर्शन गरेपछि आईसीसीले नेपाललाई ट्वान्टी–२० अन्तराष्ट्रियको मान्यता दिएको थियो ।
गतवर्षको जुनमा आईसीसीले नेपाललाई सो मान्यता दिए पनि नेपालले पछिल्लो १ वर्षमा श्रीलंका गएर हङकङसँग १ खेलमात्र खेलेको थियो । तर नेदरल्यान्ड्ससँगको ४ खेलपछि नेपालले आईसीसीले तोकेको ८ खेल खेल्दै विश्व वरियतामा छिर्नेछ । नेदरल्यान्ड्स अहिले १२ औं स्थानमा छ । नेपालले आईसीसीको नयाँ वरियतामा १४ औं स्थानमा रहेको जिम्बावेलाई उछिन्ने निश्चित छ । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा नेपालले ८ खेल खेलेको छ र त्यसमा ३ विजय र ५ पराजयको नतिजा निकालेको छ ।