नेपालको खेल औपचारिक मात्र : एसिया कपमा सहभागीता पक्का

674 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

भाद्र १६, २०७२- नेपालले एसीसी यू–१९ प्रिमियरमा बिहीबार साउदी अरेबियाको सामना गर्नेछ र यसको नतिजा सम्भवत: औपचारिक मात्र हुनेछ । मलेसियाको क्वालापम्पुरमा भइरहेको प्रतियोगितामा नेपालले शीर्ष स्थान हात पार्ने सम्भावना न्यून छ ।

प्रतियोगिताको शीर्ष तीन टिमले एसीसी यू–१९ एसियाकपको यात्रा तय गर्नेमा नेपाल सुरुआती तीन स्थानमा पर्ने पनि निश्चित भइसकेको छ । कुल छ टिम सहभागी प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलेको थियो र यसको अन्तिम चरणको खेल बिहीबार हुन लागेको हो ।

अन्तिम चरणको खेल अगाडि अफगानिस्तान चार खेलबाट आठ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपालको छ अंक छ । नेपाल अफगानिस्तानसँग मात्रै पराजित भएको थियो । गणितीय रूपमा नेपालले प्रतियोगिताको शीर्ष स्थान हात पार्ने अवस्था रहे पनि त्यो सम्भावना झिनो छ ।

नेपालले साउदी अरेबियालाई ठूलो अन्तरले पराजित गर्ने हो र त्यही स्थितिमा अफगानिस्तान मलेसियाको हातबाट ठूलो अन्तरले पराजित हुने हो भने मात्र प्रतियोगिता जित्ने टिमको समीकरण फरक हुन सक्ने छ । अन्तिम दिनको अर्को दिनको खेलमा अफगानिस्तानले मलेसियाको सामना गर्नेछ ।