मन्त्रिपरिषद् विस्तारको तयारी, को–को हुँदैछन् मन्त्री ?

423 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । एमाओवादीले मन्त्रीका लागि भइरहेको मुख्य विवाद सल्ट्याएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । ‘सभामुखको शपथपछि आइतबार केही मन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार हुन सक्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । तर, कसलाई समेट्ने भन्ने अन्तिम टुंगो शनिबारसम्म लागिसकेको छैन ।

एमाओवादीबाट सचिव टोपबहादुर रायमाझीले सरकारमा नेतृत्व गर्ने भएका छन् । अधिकांश स्थायी समिति सदस्य रायमाझीको पक्षमा उभिएपछि महासचिव कृष्णबहादुर महरालाई उपप्रधानमन्त्री बनाउने तयारीमा रहेका अध्यक्ष प्रचण्ड पछि हटेका हुन् । रायमाझीले उपप्रधानसहित पर्यटन, शक्ति बस्नेतले गृह र अग्नी सापकोटाले शिक्षा मन्त्रालय सम्हाल्ने टुंगो लागेको प्रचण्डका स्वकीय सचिव चुडामणि खड्काले जानकारी दिए । तर, सापकोटाले गृहको दाबी छाडेका छैनन् । एमाओवादीले हरिबोल गजुरेललाई कृषि मन्त्री बनाइसके पनि बाँकी ४ मन्त्रालय र राज्यमन्त्रीका विषयमा निर्णय गरिसकेको छैन ।

एमाओवादीमा गजुरेल, रायमाझी, बस्नेत र सापकोटाबाहेक राम कार्की, रेखा शर्मा, शिव मण्डल, उमेश यादव, सुरेन्द्र जयसवाल, गौरीशंकर चौधरी र सन्तकुमार थारुमध्येबाट बाँकी मन्त्री र राज्यमन्त्री छनोट गर्ने तयारी गरेको आजको कान्तिपुर दैनिकमा खबर छ । उता, एमालेले भने मन्त्रीको अन्तिम टुंगो लगाउन सकेको छैन ।