आज महाशिवरात्रि

1268 पटक पढिएको

प्रकाशित मिति: २०७२, २४ फाल्गुन सोमबार ०६:३७

सम्पादक: धादिङ न्यूज

 

 

फाल्गुन २४, २०७२- हिन्दु धर्मावलम्बीले महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाउँदै छन् । फाल्गुण कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि मनाउने गरिन्छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत मुलुकका विभिन्न शिवालयमा ठूलो मेला लाग्छ ।

060320160848347-1000x0पशुपतिलगायत शिव मन्दिरहरूमा बिहान सबेरैदेखि भक्तजनको घुइँचो लाग्ने गर्छ । शिवरात्रिका दिनमा पशुपतिनाथका चारवटै ढोका खुला गरिन्छ । यस दिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमश: दूध, दही, घिउ र महले स्नान गराउने परम्परा छ ।

दर्शनका लागि पशुपति आएका सन्त, महन्त, साधु, सन्यासी, उदासी, वैरागीसमेतलाई गुठी संस्थानले शनिबार रातिदेखि बुधबार बिहानसम्म नि:शुल्क भोजनको व्यवस्था गरेको छ । उनीहरूलाई बुधबार बिहानको भोजनसँगै दान, दक्षिणासहित पशुपति क्षेत्र विकास कोषले बिदाइ गर्छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले नि:शुल्क मुढासमेत उपलब्ध गराउँछ ।

साधु, सन्तलाई राज्यका तर्फबाट दान, दक्षिणा गर्न चमर, राडी, कमण्डलु, शंख, घण्ट, बख्खु, पीताम्बर, सिदाका सामग्री, फलफूल आदि शनिबार शीतलनिवास लगी राष्ट्रपति विद्यादेवी भण्डारीबाट संकल्प गराएर ल्याइएको पशुपति गोश्वाराका प्रमुख खिमा ओलीले बताइन् ।

शिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिरअगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन छ ।

यसै दिन ललितपुरस्थित त: बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पुर्‍याइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ इकान्तिपुर डट कममा खबर छ ।

 

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७२, २४ फाल्गुन सोमबार ०६:३७ मा प्रकाशित