धादिङका तीन उत्कृष्ट करदाता गल्छीमा सम्मानित
4 पटक पढिएको
धादिङ । राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजस्व कार्यालय गल्छीले बढी आयकर दाखिला गरी राज्यको राजस्वमा उत्कृष्ट योगदान पुर्याउने तीन करदातालाई सम्मान गरेको छ । आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा कार्यक्षेत्रभित्रका नुवाकोट, धादिङ र रसुवा जिल्लामध्येबाट छनोट भएका उत्कृष्ट तीन करदातालाई सम्मान गरिएको हो ।
सम्मानित हुनेमा बेनीघाट रोराङ गाउँपालिका–६ स्थित सदाज्योति सप्लायर्सका प्रोपाइटर उज्वल कुमार थपलिया, नीलकण्ठ नगरपालिका–३ स्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष कविता थापा र धुनीबेँसी नगरपालिका–५ स्थित एच.एस. मल्टी एग्रो प्रालिका सञ्चालक शिवहरि आचार्य रहेका छन् ।
‘कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ गल्छी गाउँपालिकाको सभाहलमा आयोजित समारोहमा उनीहरूलाई सम्मानपत्र प्रदान गरिएको हो । नियमित र बढी कर दाखिला गरेर राष्ट्रिय विकासमा योगदान पुर्याएको कदरस्वरूप गरिएको यो सम्मानले अन्य करदातालाई समेत प्रोत्साहन मिल्ने कार्यालयले विश्वास लिएको छ ।
प्रमुख कर अधिकृत प्रेमप्रकाश शाहीको अध्यक्षता तथा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमअघि गल्छी र बैरेनी बजारमा प्रभातफेरी निकालिएको थियो । कार्यक्रममा कर अधिकृत तुल्सीराम फुल्देलले २०५४ सालदेखि राष्ट्रिय कर दिवस र २०६९ सालदेखि करदाता सम्मान सुरु भएको जानकारी दिँदै स्वागत मन्तव्य राखेका थिए ।
कर अधिकृत विनोद रेग्मीले सञ्चालन गरेको कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र विद्यार्थीहरूको सहभागिता रहेको थियो । कर दिवसकै अवसरमा मंसिर १ देखि ७ गतेसम्म धादिङका विभिन्न स्थानमा करसम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने कार्यालय प्रमुख शाहीले जानकारी दिए ।







