कर्कट (साउने) सङ्क्रान्ति
767 पटक पढिएको
काठमाडौँ, १ साउन । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रुपमा मनाइन्छ ।
माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट सङ्क्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले आजको दिनलाई साउने सङ्क्रान्ति पनि भनिन्छ ।
आजका दिन कण्डारक नाम गरेको रात्रिचर (राति हिँड्ने) को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।
“वर्षभरका सङ्क्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ गरी चार वटालाई महत्वका साथ लिइन्छ, वैशाख र कात्तिक सङ्क्रान्तिमा दिनरात दुवै बराबर, साउने सङ्क्रान्तिका दिन लामो र माघे सङ्क्रान्तिका दिन छोटो हुने भएकाले यी चारको अन्यको तुलनमा बढी महत्व भएको हो”–उहाँले भन्नुभयो । साउने सङ्क्रान्तिपछि चाडपर्वको लहरसमेत सुरु हुन्छ । रासस
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७३, ३१ असार शुक्रबार २३:१२ मा प्रकाशित