दार्खामा खुला दौड प्रतियोगिता हुने

776 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 running-shutterstock                जो धेरै दौडिन्छ, उही धेरै बाँच्छ भन्ने नारा सहित जिल्लाको दार्खा गाउँ बिकास समिती ब्युरुचेतमा दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ । गाउँमा स्थानिय युवाहरु र वरपरका गाउँका युवाहरु विच सधैं जसो भैरहने झैझगडालाई निर्मुल पारी शान्ती स्थापनार्थ दार्खा युवा समुहले दसैंको अवसर पारेर मैत्रीपूर्ण “खुला दौड प्रतियोगिता २०७३” को आयोजना गर्न लागेका हुन्।

                  धादिङको उत्तरी क्षेत्रको एउटा सुन्दर तामाङ गाउँ दार्खा; अत्यन्तै रमणिय ठाउँँ, जसले जिल्लालाई मात्रै हैन देशकै लागि कलाकार, शिक्षक, लेखक दिएको छ त्यही सुन्दर गाउँमा केही समय अगाडि मात्रै एक्लै दुक्लै हिंड्न डराउनु पर्थ्यो। चाडबाड होस् या कुनै जमघट झै झगडा, मारपिट, धरपकड भैरहन्थ्यो । बिदेशिएका युबाहरु समेत चाडबाडमा घर आउन मन गर्दैनथे। भएका युबाहरु बिच पनि दुर्व्यसन र कुसंगतका कारण दिनहुँ जसो झगडा भैरहन्थ्यो । तर त्यही गाउँका केही शिक्षित तथा सचेत युवाहरु अब गाउँमा शान्ती स्थापना गर्न लागि परेका छन । यसैको उदाहरण स्वरुप दार्खा युवा समुहले दसैंको मौका पारेर मैत्रिपूर्ण दौड प्रतियोगिताको आयोजना गर्न लागेको र यस प्रतियोगिताले युवाहरु बिच एकताको बिजारोपण हुनेमा आफु विश्वस्त रहेको कार्यक्रम संयोजक तथा युवा व्यवसायी प्रदिप फ्युबाले धादिङन्युज डट कमलाई बताउनु भयो ।

               प्रतियोगितामा महिला र पुरुषलाई छुट्टाछुट्टै प्रतिस्पर्धा गराईनेछ । ४ किलोमिटरको दुरीमा गरिने यो प्रतियोगिता सत्यदेवी–३ परग्युङदेखि दार्खा–२ सानीगङ चौतारासम्म दौडिनुपर्ने आयोजकले जानकारी दिएका छन् । प्रतियोगिता फूलपातीको दिन बिहान ७ः३० बजेबाट सुरु हुनेछ । खेलमा प्रथम हुने महिला तथा पुरुषले पाँच हजार रूपैयाँ नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले रु. ३ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो र चौथो हुनेले क्रमशः रु. २ हजार र १ हजार नगदसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन् ।

           शिक्षक, विद्यार्थी, म्हेन्दोमायाका कलाकार र स्थानीयहरूको समेत दौडमा सहभागी हुने संयोजक फ्युवाले जानकारी दिनु भयो । उनका अनुसार सो प्रतियोगिताको प्रायोजन व्यवसायी एवम् समाजसेवी दार्खा–२ का तम्बुलाल तामाङले गरेका छन् । तामाङ मलेसियामा होटेल व्यवसाय गर्दै आएका छन् ।