विधिपूर्वक दसैँघरमा फूलपाती भित्र्याइयो

725 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

badhai-bhandariबडादसैँको सातौ दिन आज हनुमानढोका दरबारस्थित दसैँघरमा फूलपाती भित्र्याइएको छ ,सर्वसाधारणले पनि शुभसाइतमा आ आफनो घरमा फूलपाती भित्रयाएका छन ।सरकारी कर्मचारी, हनुमानढोका दरबार हेरचाह अड्डाका प्रतिनिधि तथा विभिन्न सांस्कृतिक बाजागाजा, सुरक्षाकर्मीको लावा लस्करसहित जमलबाट फूलपाती हनुमानढोका ल्याइएको हो । प्रत्येक वर्ष फूलपातीका दिन राजकीय सम्मानका साथ फूलपाती भित्र्याइने परम्पराअनुसार सो अवसरमा गुर्जुको पल्टनले तोप पड्काएको थियो ।
कार्यालयका निर्देशक सरस्वती सिंहले अघिल्लो दिन हनुमानढोकाका केही प्रतिनिधिलाई फूलपाती लिन धादिङको जीवनपुर पठाइएको जानकारी दिँदै उनीहरूले आज बिहान आँप, चाँप, धानको बाला, रङ्गीचङ्गी फूल, असुरोको पात, बेलको पातसहित फूलपाती जमल ल्याएको बताए ।
हनुमानढोकाबाट फूलपाती लिन धादिङ गएका प्रतिनिधिले अघिल्लो दिन राति त्यहाँ बोका, भेडालाई बलि दिएर परम्परागतरूपमा भोज खाएपछि फूलपाती काठमाडौँमा ल्याउने परम्परा छ । मल्लकालीन समयदेखि चल्दै आएको फूलपाती भित्र्याउने सो परम्परालाई आधुनिक नेपालको विकास भएपछि शाहवंशीय शासनकालमा निरन्तरता दिँदै गोर्खाबाट समेत फूलपाती ल्याएर दसैँ घरमा मिसाउने गरिएकोमा अहिले पनि सोही परम्परालाई कायम गरिएको छ ।

यसैबिच, राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँअन्तर्गत आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोह अवलोकन गरिन । समारोहमा नेपाली सेनाका तर्फबाट राइफल र तोपको बढाइँका साथै मार्चपास गरिएको थियो । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्च पास गर्दै बढाइँ र नेपालको राष्ट्रिय झन्डाको आकृति चिह्न बनाएर बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेसा व्यवसायका प्रतिनिधि सहभागी थिए। फूलपाती बढाइँ समारोह हेर्न सैनिक मञ्च वरपर सर्वसाधारणको भीड लागेको थियो ।