बिप्लब अब मुख्यमन्त्री बन्ने

1549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

biplav-indianभारतको त्रिपुरा राज्यमा सम्पन्न विधानसभा चुनावमा भारतीय कम्यूनिस्ट पार्टी माक्र्सवादीलाई पराजित गर्न सफल बीजेपीका प्रदेश अध्यक्ष बिप्लब कुमार देव प्रदेशको मुख्यमन्त्री बन्ने भएका छन् । अगरतलामा भएको सहयोगी पार्टीसहित बीजेपीका विधायकको बैठकले बिप्लबलाई नेता चुनेको हो । आदिवासी समुदायका जिष्णु देव बर्मन उपमुख्यमन्त्री हुने भएका छन् ।
८ मार्चमा मुख्यमन्त्रीको सपथ हुने बीजेपीका केन्द्रीय पर्यवेक्षक तथा केन्द्रीय मन्त्री नितिन गडकरीले बताए । सपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी र पार्टी अध्यक्ष अमित शाहको समेत उपस्थिति रहने समाचार भारतीय पत्रिका दैनिक भाष्करले प्रकाशित गरेको छ ।
त्रिपुराको उदयपुरमा जन्मिएका बिप्लबले पश्चिम त्रिपुराको बनमालीपुर सिटबाट चुनाव जितेका थिए । त्रिपुरा विश्वविद्यालयबाट स्नातक बिप्लब समाजसेवामा सक्रिय अनुहार हुन् । स्वच्छ छविका बिप्लबमाथि कुनै आपराधिक आरोप नलागेको समाचारमा जनाइएको छ । उनी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) निकट मानिन्छन् ।
बिप्लबले त्रिपुराका ग्रामीण क्षेत्रमा सक्रिय भएर काम गरेका कारण युवाहरू उनीप्रति आकर्षित हुन्छन् । विगत २५ वर्षदेखि सत्तामा रहेको कम्यूनिस्ट सरकारलाई पराजित गर्दै बिप्लब त्रिपुरामा उदाएका हुन् ।
बीजेपी सत्तामा आए प्राकृतिक स्रोतको उपयोग गर्दै त्रिपुरालाई नमूना प्रदेश बनाउने प्रतिवद्धता बिप्लबले गरेका थिए । बिप्लबको पहलमा चुनावअघि धेरै कम्यूनिस्ट समर्थक कार्यकर्ता बीजेपीमा प्रवेश गरेका थिए ।