परदेशिएका युवा भन्छन् : सात समुद्रपारि सधैं खल्लो दसैं

1092 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- सहरमा दैनिकी चलाइरहेकाहरु दसैंका लागि घर फर्किरहेका छन्। राजधानीसँग जोडिएका नाकाहरुमा सवारी साधनको लामो लाइन छ। दसैं मनाउन दैनिक लाखौं सर्वसाधारण राजधानी छोड्दैछन्।

घरदेश हुनेहरु दसैंका लागि घर गइरहँदा परदेश हुनेहरुलाई भने फर्किहाल्न सम्भव छैन। बिदा मिल्नेहरु स्वदेश फर्किन्छन्। तर, परदेशमा हुने धेरैलाई पर्व आए पनि कामले छोड्दैन।

गाउँमा उल्लास भरिएको छ। बजार सुनसान छन्। हिन्दुहरुको प्रमुख पर्वमा स्वदेश फर्कन नपाएकाहरुले परदेशमा दसैं कसरी मनाउने गरिरहेका छन्? परदेशको दसैं अनुभूतिलाई केही युवाहरुहरुले नेपाल लाइभसँग साटेका छन्।

विदेशमा नेपाली बच्चाहरूका लागि दसैं विशेष

प्रभात खनाल, नर्वे

उसो त विदेशमा रहेका नेपालीलाई सबैभन्दा बढी कुनै बेला नेपाल सम्झना हुन्छ भने त्यो चाडपर्वको बेला नै हो। आफ्नो काम, पढाइ या अन्य रोजगारीका लागि विदेशमा रहेका नेपाली जब चाडपर्वको बेला आउँछ, तब घरपरिवारको याद, गाउँको सम्झना, बाल्यकालदेखिको समय टीकाजमरा, दक्षिणा आदि चिजहरू मानसपटलमा सलबलाइरहन्छन्। त्यो दसैंको सम्झनालाई विदेशमा समेत ताजा गराउने अभिलाषाले विभिन्न प्रकारका कार्यक्रम भइरहन्छन्। डेनमार्कमा दसैं आयो, डान्स पार्टी कार्यक्रम नै सञ्चालन गरियो भने नर्वेमा दसैंका लागि नेपालीहरूबीच  भलिबल प्रतियोगिता गरियो।

आफ्नो काम वा पढाइको बाध्यताले दसैंका ९ दिनमा जुन समय बिदा मिलेको हुन्छ, सोही दिन आफन्तजनहरू, चिनजानका साथीहरूबीच नेपालकै पारामा दसैं मनाइन्छ। विशेषगरी विदेशमै जन्मेका वा हुर्कंदै गरेका नेपाली बालबच्चाका लागि दसैं नेपाललाई नजिकबाट नियाल्ने एउटा सुनौलो अवसर पनि हुन सक्छ। विदेशमा दसैं मनाउने जस्तासुकै बहना वा रूपहरू किन नहुन् तर सायद नेपाली गाउँठाउँको माया, आफन्तहरूको भेट अनि लिंगेपिङ, साथीहरूसँगको सम्झना बढी आउने गर्छ। नेपालको त्यो असली दसैं र मौसम सायद आगामी धेरै वर्षसम्म विदेशका नेपालीको मात्र विगतको याद वा भविष्यको कल्पना बनेर मानसपटलमा गुन्जिरहनेछन्।

बिदाअनुसार दसैं अघिपछि पार्नुपर्ने बाध्यता

मधुसुदन ओझा, दक्षिण कोरिया

प्रवासमा बस्ने हामी नेपालीलाई चाडपर्व आउँदा विशेषगरी आफ्नो देश, आफ्नो समाज, इष्ट मित्रजन र घरपरिवार साथ नहुँदा खल्लो महसुस हुन्छ। विशेषगरी कोरियामा काममा बढी व्यस्त भइने हुनाले हाम्रो समुदायको चाडपर्व परेको दिन कोरियाको सार्वजनिक बिदा परेन भने काम गर्नुपर्ने हुन्छ। दिनभरि अनेकौं कुराहरू मनमा खेलिरहन्छन्। सायद नेपालमा भएको भए हामी पनि परिवारसँगै रमाइलो  गरिराखेका हुन्थ्यौँ होला।

काम गर्नैपर्ने बाध्यता भए पनि घरपरिवारको फोन आयो भने आज बिदा छ, यसो साथी भाइसँग रमाइलो गर्न बाहिर निस्केको भनी झुठो बोल्नुपर्ने पनि हुन्छ। परिवारलाई मन राख्नुपर्ने पनि हुन्छ। अहिले हाम्रो मुख्य चाड दसैं नजिकिँदै गर्दा नेपालमा भने अनेकन तयारी भए पनि विदेशमा साथीभाइ मिलेर रमाइलो गरौं भन्दा पनि दसैं आउनुभन्दा पहिले कुनै बिदा मिलाउनुपर्ने हुन्छ। दसैंको तिथि सरकारी बिदाअनुसार तय गर्नुपर्छ। यसो गर्दा केहीबेर भए पनि साथीहरूसँग भेट हुन्छ। आफन्तजन, घरपरिवारसित छुट्निुको पीडा अलि कम हुन्छ।

नानीबाबुहरूलाई संस्कृति अवगत गराउने दायित्व

दामोदर सुवेदी, पोर्चुगल

९ वर्ष भएछ विदेशिएको। भौतिक शरीर परदेशमा रहे पनि मन भने गाउँघर, उकाली आरोली, भञ्ज्याङ डाँडाकाँडामा घुमिरहेको छ। विशेषगरी पर्वहरूमा मनलाई भुलाउन मुस्किल हुन्छ। दसैंको समय कोदाली बोकेर बाटो सफा गर्न हिँडेको, सबै गाउँलेलाई उर्दी जारी गरेर बाटो खन्न लागिपरेको खुबै सम्झना आउँछ।

रोटेपिङ बनाएको, मच्चीमच्ची खेलेको, परदेशबाट फर्कनेहरूले विदेशको भोगाइ भेटघाटमा बताएको सम्झना ताजा हुन्छ। घरको रङ्गरोगन, मामाघरको दक्षिणा अरू नर्बिसने विषय हुन्।

स्वदेशमा पर्वहरूको ताँती लागेको अवस्थामा परदेशको काम र बोझले वाक्क बनाएको हुन्छ। आफ्नो संस्कृति र परम्परा रक्षाको लागि नानीबाबुहरूलाई पर्वहरूको जानकारी गराउने दायित्व पनि सम्झिएको हुन्छ। बिदाको समयमा नेपालीहरू भेटेर टीका ग्रहण गर्ने तथा आशिर्वाद थाप्ने गरिन्छ। नेपाली संघसंस्थाले गरेका कार्यक्रममार्फत मनलाई शान्त पार्ने गरिन्छ।

आफन्तसँग नहुँदा खल्लो

यम श्रेष्ठ, दक्षिण कोरिया

नेपालमा हुँदा दसैंमा नयाँ लुगा लगाउने, आफूभन्दा ठूलाबडाको हातबाट टीका थाप्दै आशिष र दक्षिणा लिने तथा साथीहरूसँग मिलेर पिङ खेल्न प्रचलन थियो। दसैं भन्नासाथ छुट्टै किसिमको उमंग मनमा आउँथ्यो। अहिले करिब ८ वर्षदेखि कोरियामै दसैं मनाउँदै आएको छु। केही वर्षयता परम्पराअनुसार आफैंले जमरा राख्ने गरेको छु।

सहकर्मी मित्र र साथीभाइहरू जमघट भएर बिदाको दिन पारेर टीका–जमरा लगाउने र रमाइलो गर्दै परदेशमा दसैं मनाउँदै आएका छौं।

कोरियामा विभिन्न संघसंस्थाले आयोजना गरेको दसैं कार्यक्रममा सामूहिक दसैं पनि मनाउँछौं। यसपालिको दसैंमा पनि पहिलेझैं इष्टमित्र, साथीभाइ जम्मा भएर टीकाजमरा लगाउने, मिष्ठान्न भोजन बनाएर खाने र रमाइलो अविस्मरणीय तवरले दसैं मनाउने योजना छ। दसैंको रमझम देख्दा र नेपालमा विगतमा घरपरिवार र आफन्तहरूको आशिर्वाद लिएर मनाएको सम्झँदा नेपाल फर्कन मन लाग्छ। तर भनेको बेलामा कम्पनीबाट छुट्टी नमिल्ने भएकाले गर्दा यस पटकको दसैंमा पनि घर जान नपाउने भएँ।

विदेशमा जसोतसो सकिन्छ, त्यसरी मन बुझाएर वर्षभरिको दुःख भुलाउन खुसी बाँड्छौं।

हामीले विदेशमा जतिसुकै रमाइलो गरेर मनाए पनि आफ्नो परिवार आफन्त साथमा नहुँदा भने खल्लो आभास हुन्छ। घरपरिवार, आफन्त र साथीभाइ सबैलाई धेरै मिस गरिरहेका हुन्छौं।

नेपाल लाईभ डट कमबाट