तेश्रो राष्ट्रिय उद्योग दिवस धादिङमा पनि मनाइयो

1845 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- “आम्दानी मूलक रोजगारीको आधार,सवल र सक्षम औद्योगिक पूर्वाधार” भन्ने नाराका साथ तेश्रो राष्ट्रिय उद्घोग दिवस धादिङमा पनि मनाइएको छ ।
घरेलु तथा साना उद्घोग विकास समिति धादिङ ,धादिङ उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्घोग महासंघ धादिङको संयुक्त आयोजनामा आईतबार विहान पुछारवजार पुलचोकबाट निकालिएको प्रभातफेरी वजारको मुख्य क्षेत्र हुंदै सिरानवजार स्थित धादिङ उद्योग वाणिज्य संघको सभा हलमा पुगेर सभामा परिणत भएको थियो । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षतामा भएको छलफल कार्यक्रम सहायक प्रमु्ख जिल्ला अधिकारी धोलकराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा साना, लघु तथा ठुला लगानीका उद्योग व्यवसायका बिषयगत संगठनका प्रमुख एवम प्रतिनिधि उद्यमी व्यवसायी, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा उद्योग दिवसको औचित्य र जिल्लाको उद्योग व्यवसायका बिषयमा घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष विश्वराम दुवाडी, घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख केदार खड्का,सहायक प्रमुख जिल्ला अधिकारी धोेलकराज ढकाल, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख केदार खड्काले धादिङ जिल्लामा ५१ वटा ठूला, पाँच हजार आठ सय ८५ वटा लघु उद्योग र तीन हजार ८१८ वटा व्यापारी फर्म संचालनमा रहेको तथ्यांक प्रस्तुत गर्नुभएको थियो ।