धादिङका दुई सहित देशभरका २९ स्थानीय तह बैंक विहिन

1083 पटक पढिएको

प्रकाशित मिति: २०७६, २७ बैशाख शुक्रबार १२:२८

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ । सरकारले देशभरका स्थानीय तहमा कम्तिमा एउटा बैक स्थापना गर्ने निति लिएको भएपनि राजधानीको छेउमै रहेको धादिङ जिल्लाका दुई स्थानीय तहमा अझै सम्म बैक पुग्न सकेका छैन । धादिङको १३ स्थानीय तह मध्ये रुवीभ्याली र नेत्रावती गाउँपालिकामा अहिले सम्म कुनै पनि बैक पुगेका छैनन । धादिङका दुई समेत गरी देशभरका २९ स्थानीय तहमा पनि अझै बैक पुगेका छैनन । देशभरका ७ सय ५३ मध्यृ ७२४ स्थानीय तहमा बैंक पुगिसकेका छन । धादिङको विकटमा रहेको खनियावासमा बैक अफ काठमाण्डु, गंगाजमुनामा एसविआई बैकको शाखा स्थापना भईसकेको छ ।

गाउँमा बैक नहुंदा स्थानीय तहबाट विकास निर्माण तथा अन्य कार्यका लागि विनियोजित रकम भुक्तानीमा समस्या भएको छ । रुवीभ्याली गाउँपालिका जिल्लाकै सबैभन्दा विकटमा रहेका कारण त्यहाँ सम्म पुगेर बैकिङ सेवा दिन धेरै कठिनाई भएको बैक तथा वित्तिय संस्थाहरुको भनाई छ । बाटोघाटो, विद्युत्, इन्टरनेट, सुरक्षा, भौगोलिक विकटता लगायत कारण देखाउँदै दुर्गमका स्थानीय तहमा बैंक जान नसकेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार फागुन मसान्तमा २८ वाणिज्य बैंक, ३३ विकास बैंक, २४ वित्त कम्पनी र ८२ लघुवित्त वित्तीय संस्था सञ्चालनमा छन् । राष्ट्र बैंकको फागुनसम्मको तथ्यांकअनुसार प्रदेश १ मा १३०, प्रदेश २ मा १३३, प्रदेश ३ मा ११४, गण्डकी प्रदेशमा ८२, प्रदेश ५ मा १०७ र कर्णाली प्रदेशमा ६५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुगेका छन् ।

देशभर बैंक तथा वित्तीय संस्थाका शाखा ८ हजार ५५ वटा पुगेका छन् । जसमा वाणिज्य बैंकका ३ हजार ३०५, विकास बैंकका १ हजार १९६, वित्त कम्पनीका २ सय तथा लघुवित्त कम्पनीका ३ हजार ३५४ रहेको राष्ट्र बैंकले जनाएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, २७ बैशाख शुक्रबार १२:२८ मा प्रकाशित