दुब्लाउन चाहनुहुन्छ त्यसो भए भात खानुहोस

2016 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपालसहित केही एशियाली देशमा चामल अर्थात् भात खाने चलन धेरै छ । भात बढी खाँदा मोटोपना बढ्छ भन्ने धारणा हामीकहाँ पछिल्लो समय बढेको छ । मोटाइने अनि पेट लाग्ने डरकै कारण दुब्ला पातला मानिसले समेत सकेसम्म कम भात खाने गरेको पाइन्छ । तर जापानको क्योटोस्थित दोशिशा वुमन्स कलेज अफ लिबरल आट्र्समा प्राध्यापक टोमोको इमाइको नेतृत्वमा भएको पछिल्लो अनुसन्धानले भने भात खाने बानीले मोटोपना रोक्न मद्दत गर्ने देखाएको छ ।

अनुसन्धानमा १ सय ३६ देशको प्रतिव्यक्ति दैनिक चामल र क्यालोरी खपतको अध्ययन गरिएको थियो । यसमा बडी मास इन्डेक्स (बीएमआई)सम्बन्धी तथ्यांक पनि केलाइएको थियो । यस क्रममा भातको खपत न्यून भएको देशको तुलनामा नियमित आहारामा भातको प्रयोग बढी हुने जापानलगायत एशियाली देशमा मोटोपना कम पाइयो । दैनिक प्रतिव्यक्ति चामल खपत ५० ग्राम मात्र धेरै हुँदा मोटोपना १ प्रतिशत घटेको अनुसन्धानले देखाएको छ । विकसित देशहरूमा शरीरको तौल घटाउन कार्बोहाइड्रेट न्यून भएको खानेकुरा खाने चलन बढी छ । यी देशमा भातको उपभोग पनि निकै कम छ । तर नियमित आहारमा भात अनिवार्य भएका जापानी र एशियाली खानाले मोटोपना घटाउन मद्दत गर्ने इमाइले बताइन् ।

भातमा पोटासियम म्यग्नेसियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्त्व अधिक मात्रामा हुन्छ । यसमा स्याचुरेटेड फ्याट र सुगरको मात्रा पनि कम हुन्छ । भातमा हुने पोषक तत्त्व र अन्य कम्पाउन्डका कारण पेट डम्म भरिएको आभास हुन्छ र धेरै खाने बानी रोक्न मद्दत गर्ने इमाइले बताइन् । ‘विश्वभर बढ्दो क्रममा रहेको मोटोपनाको स्तरलाई दृष्टिगत गर्दा पश्चिमा देशमा समेत मोटोपना घटाउन धेरै भात खान सुझाव दिन सकिन्छ,’ उनले भनिन् ।

नियमित खानामा भात समावेशको कारण नै पश्चिमा देशको तुलनामा पूर्वी देशमा मोटोपना भएका मानिस कम भएको नेशनल ओबेसिटी फोरमका अध्यक्ष टाम फ्रेले पनि बताएका छन् ।  – (एजेन्सीको सहयोगमा)