धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

2230 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,७ कात्तिक – तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन आग्रह गर्दै स्थानीय प्रशासनले जिल्ला भित्र कुनै प्रकारको पट्का लगायतका विष्फोटक पदार्थ उत्पादन, बिक्री वितरण र प्रयोग गरिएमा कानून बमोजिम कारवाही हुने जानकारी दिएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बुधवार एक सूचना जारी गर्दै देउसी भैलो खेल्ने बहानामा साँस्कृतिक मूल्य मान्यतामा आँच् आउन सक्ने कार्य नगर्न, देउसी भैलो जस्ता मनोरन्जनात्मक कार्य बेलुकी ९ वजे सम्म मात्र गर्न जिल्लावासीलाई आग्रह गर्नु भएको हो ।

तिहार नजिकिँदै जाँदा धादिङ जिल्ला सदरमुकाम धादिङबेसीका साथै जिल्लाभर प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ । देउसीभैलो, जुवातास, पटकालगायत विभिन्न संवेदनशील विषयमा प्रहरीले नियमित गस्ति, छड्के चेकजाँच लगायतका कार्य गरेर नियन्त्रण शुरु गरेको हो

तिहारको अवसर पारेर सदरमुकाम र जिल्लाका अन्य वजारहरुमा बिक्रीका लागि पटकाजस्ता विस्फोटक पदार्थ भित्रिने भएकाले मुख्य राजमार्ग र ग्रामीण सडक र वजारहरुमा चेकजाँच टोली खटाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

त्यस्तै, तिहारमा जुवातास खेल्नेहरुलाई नियन्त्रणमा लिन नियमित गस्तिका साथै सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो ।
तिहारको समयमा भिडभाड बढी हुने व्यापारिक क्षेत्रमा पनि थप जनशक्ति परिचालन गरिएको वैदवारले बताउनुभयो ।

तिहारको समयमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने र अन्य आपराधीक गतिविधि हुन नदिन प्रहरीले विशेष चेकप्वाइन्ट राख्ने जनाएको छ ।