गल्छीमा क्वारेन्टाईनमा बसेका १७ जना खुसी हुँदै घर फर्किए

867 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २५ चैत – धादिङको गल्छी गाउँपालिकाको क्वारेन्टाईनमा बस्दै आएका १७ जना दुई साताको क्वारेन्टाईन बसाई सकेर मंगलबार विहानबाट खुसी साथ आ–आफ्नो घर फर्किएका छन । मजदुरीका लागि भारत गएका उनिहरु भारतमा कोरोना संक्रमण फैलन थालेपछि चैत महिना शुरु भएपछि आफ्नो गाउँ फर्किएका थिए ।

गाउँपालिकाले वागेश्वरी माध्यमिक विद्यालयमा बनाएको क्वारेन्टाईनमा बसेका २० जना मध्ये १७ जना १४ दिनको स्वास्थ्य निगरानीपछि मंंगलबार विहानबाट घर फर्किएको गाउँपालिकाको स्वास्थ्य शाखाका उपप्रमुख शिव पौडेलले वताउनुभयो । दुई जना चैत १८ गते नै घर फर्किसकेका छन भने अब एक जना मात्र क्वारेन्टाइनमा रहेको पनि पौडेलले जानकारी दिनुभयो ।

सरकारले भारतबाट आएका सबै व्यक्तिलाई क्वारेन्टाइमा राख्न निर्देशन दिएपछि दुई साता अघि उनिहरुलाई क्वारेन्टाइनमा ल्याई राखिएको थियो । गल्छी गाउँपालिकामा चैत महिना लागेपछि भारत लगायत विभिन्न देशबाट ८३ जना व्यक्ति गाउँ फर्किएको गाउँपालिकाले जनाएको छ । विदेशबाट आएका मध्ये भारतबाट ७५ जना, युएईबाट ४ जना, कोरिया,कतार,मलेसिया, बंगलादेशबाट १÷१ जना रहेका छन । अन्य मुलुकबाट भन्दा भारत बाट आउनेहरुको संख्या धेरै रहेको र भारतमा संक्रमण देखिएपछि समूहमा गाउँ फर्किएकहरुलाई दुई साता क्वारेन्टाईनमा राखिएको गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाले वताउनु भयो ।

भारतबाट आएका ७५ मध्ये २० जनालाई गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको थियो भने बाँकीलाई घरमै सुरक्षित बस्न निर्देशन दिईएको थियो । क्वारेन्टाइनमा रहेकाहरु कसैलाई पनि कोराना सँग मिल्दो मात्रै होइन अरु स्वास्थ्य समस्या पनि नदेखिएको उनिहरुको नियमित स्वास्थ्य जाँचमा खटिएका स्वास्थ्यकर्मीहरुले वताएका छन ।

दुई साताको बसाई पछि घर फर्किएकाहरुले आंफुहरुलाई शुरुमा नरमाईलो लागेपनि कुनै स्वास्थ्य समस्या बिना घर फर्कन पाएकोमा खुसी व्यक्त गरेका छन । ‘आँखाले नदेख्ने रोगले भेटेको भए न हामी रहन्थ्यौं, नत घर परिवारनै । धन्न हामीलाई कुनै समस्या देखिएन यहिनै खुसीको कुरा भो’ क्वारेन्टाईनको बसाईबाट घर फर्कदै गर्दा उनिहरुले वताए ।

मंगलबार क्वारेनटाइनबाट घर फर्किएकाहरुमा गल्छी गाउँपालिका वडा नम्बर ८ का १६ जना र वडा नम्बर २ का एक जना रहेका छन । उनिहरुलाई गाउँपालिकाले आफन्तको जिम्मा लगाएर घर पठाएको हो । घर फर्काउनु अघि गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिना, स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवाली लगायतले संसारभरी फैलिएको कोरोना महामारीबाट बच्नु भनेको आँफु सुरक्षित हुनु हो । क्वारेन्टाइनमा राख्दा कुनै समस्या नदेखिएपनि अब घर फर्किएर अझै सुरक्षित बसिदिन आग्रह गरेका थिए ।