कोरोना जितेका उरवहादुर महेन्द्र धमलाको जिम्मामा घर फर्किए

1342 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङं – अस्पताल भर्ना भएको २८ दिन पछि कोरोनालाई जितेर धादिङको नेत्रावती डबजोङ गाउँपालिका सेमजोङका  ३२ वर्षका उरवहादुर तामाङ  घर फर्किएका छन ।  यु ए ईबाट काठमाडौं आएका तामाङमा कोरोना देखिएपछि गत चैत १२ गते टेकु अस्पतालमा भर्ना भर्ना गरिएको थियो ।  अस्पतालमा एक महिनादेखि उपचाररत तामाङ कोरोना भाइरसमुक्त भएपछि डिस्चार्ज भएका हुन्।

अस्पतालबाट डिस्चार्ज भएका तामाङलाई धादिङ जिल्ला अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले जिम्मा लिएर धादिङ ल्याउनु भएको हो । तामाङ लाई लिन धमला बिहिवार बिहान धादिङबेसीबाट काठमाण्डौं जानु भएको थियो ।

लकडाउनका कारण तामाङका वुवा आमा काठमाण्डौं जान नसक्ने भएपछि छिमेकी अभिभावकको हैसियतले गाउँको भाइलाई लिन आफ्नै गाडी लिएर टेकु गएको अध्यक्ष धमलाले बताउनु भयो । तामाङलाई बुधबार नै डिस्चार्ज गर्ने तयारी गरिएपनि आफन्त लिन नआएपछि उनलाई लिन विहीवार अध्यक्ष धमला अस्पताल जानुभएको थियो ।

चैत ६ गते (मार्च १९) मा युएईको सारजाँहबाट एयर अरेवियाको उडानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका तामाङ १० गते मात्र टेकु अस्पताल पुगेका थिए। अस्पताल पुगेका उनको नमुना परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको हो।

 कोरोना संक्रमण निको भएपनि धादिङ अस्पतालको क्वारेन्टाइनमा १४ दिन राखेर घर पठाईने छ ।

नेपालमा हालसम्म ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।