धादिङमा चौथो संक्रमित भेटिएपछि गाउँ गरियो शिल

2304 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं ५ घर भएकी २३ वर्षिया महिलालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएपछि उनको गाउँ शिल गरिएको छ ।

बुधवार बिहान सिद्धेलक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल समेतको उपस्थितीमा धादिङका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका संयोजक अस्मान तामाङको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समिति धादिङको बैठकले सिद्धलेक गाउँपालिका वडा नं ५ को हिटी गाउँलाई शील गरेको हो । स्थानीय प्रशासन ऐन अनुसार गाउँलाई शील गरि संक्रमित महिलाको गाउँमा फैलन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै गाउँ शील गरिएको सुरक्षा समितिले जनाएको छ ।


प्रजिअ तामाङका अनुसार जेठ २१ गते देखि २४ गते राती १२ वजे सम्मका लागि संक्रामक ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा २ वमोजिम सिद्धलेक वडा नं ५ कुम्पुर हिटी गाउँको पूर्वमा गनगने चौतारा, पश्चिममा चिप्ले डाँडा, उत्तरमा सुकौरा खोला र दक्षिणमा आँख्ले चौतारो वीचको सीमाक्षेत्रलाइ शील गरिएको हो । शील गरिएको गाउँमा अहिले शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ ।

कोेरोनाको संक्रमण देखिएकी महिलामा स्वास्थ्य समस्या देखिएपछि जेठ १४ धादिङ अस्पताल गएकोमा त्यहाँबाट थापाथली स्थित प्रसुतीगृह पठाईएको थियो । उपचारपछि स्वास्थ्यमा क्रमिक सुधार आएपनि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्न थालेको बताएपछि कोरोनाको शंकामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

गाउँकी स्थानीय महिलालाई कोरोनाको संक्रमण देखिएपछि उनको यात्रा विवरण र उनीसंग सम्पर्क भएका ब्यक्तिहरुको विवरण खोज्दै उनिहरुको पिसिआर परिक्षण गर्न र बाहिरी मान्छे गाउँमा पस्न नदिन गाउँ शिल गरिएको हो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष सिलवालका अनुसार वडा अध्यक्ष दिल बहादुर घलेको संयोजकत्वमा संक्रमित महिलाको यात्रा विवरण र संम्पर्क भएका ब्यक्तिहरुको खोजपहिचान कार्य सुरु गरिएको छ । पहिचान पछि संक्रमित महिलाको सम्पर्कमा रहेका सवै ब्यक्तिहरुको पिसिआर परीक्षण गरिने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले बताउनु भएको छ ।

डाक्टर पौडेलका अनुसार पहिलो चरणमा संक्रमितको घर परिवार र नियमित सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षण हुनेछ, त्यसको नतिजाको आधारमा थप परीक्षण गरिने छ ।

ती महिलालाई काठमाडौं गएपछि कोरोनाको संक्रमण भयो कि धादिङ हुदैमा संक्रमण थियो भन्ने बारेमा स्पष्ट खुलेको छैन । महिलालाई काठमाडौं लैजाने एम्वुलेन्सका चालकलाई पनि क्वारेन्टाईनमा राखिएको छ ।

धादिङ जिल्लाका स्थानीयमा देखिएको यो चौथो संक्रमण हो । यसअघि धादिङ जिल्ला घर भएका ३ जनामा संक्रमण देखिएको भएपनि उनीहरु सवैजना कोरोनालाई जितेर घर फर्किसकेका छन् । यसअघि संक्रमण देखिएका तीनैजनामा जिल्ला भित्र संक्रमण नभएको र उनीहरुमार्फत अरुलाई पनि संक्रमण भएको नदेखिएको डाक्टर पौडेलले वताउनु भयो ।

यसअघि दुवईबाट नेपाल फर्किएका नेत्रावती डबजोङका एक पुरुष नेपालमा भेटिएका तेस्रो कोरोना संक्रमित थिए, उनी गत महिना नै डिस्चार्ज भएका थिए भने पछिल्लो तीन साताभित्र भेटिएका गल्छी गाउँपालिका वडा नं ८ कटुवालपौवा गाउँकी ३० वर्षीया महिला तथा थाँक्रे गाउँपालिका वडा नं ७ का ४१ वर्षीय पुरुष रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण फैलिन थालेसँगै धादिङ जिल्लामा मंगलबारसम्म १९ सय १८ जनाको आरडिटी गरिएको छ । अन्य जिल्लाबाट आएका शंकास्पद व्यक्तिहरु, सुरक्षाकर्मी, गाउँपालिकाका कर्मचारी, स्वास्थ्यकर्र्मी, सञ्चारकर्मी, स्वयमसेवकहरुसमेत गरी १ हजार ९१८ जनाको आरडिटी गरिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । त्यसै गरि जिल्लाबाट १७२ जनाको स्वाव परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएकोमा १५८ जनाको रिपोर्ट नेगेटिभ आएको र १४ जनाको रिपोर्ट आउन बाँकी रहेको संकट व्यवस्थापन केन्द्र ( सिएमसि) धादिङले जनाएको छ ।