स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण

902 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अमेरिकी सरकारले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको एक समारोहमा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई एक सय थान भेन्टिलेटर हस्तान्तरण गर्नुभयो ।

भेन्टिलेन्टर हस्तान्तरण समारोहमा मन्त्री ढकालले एक सस थान भेन्टिलेटर हस्तान्तरणका लागि अमेरिकी सरकार र राजदूत बेरीलाई नेपाल सरकार र नेपाली जनताको तर्फबाट धन्यवाद दिनुभयो । उहाँले भन्नुभयो ‘कोरोनाबाट सबैभन्दा प्रभावति भएको अमेरिकाले नै महामारीको लडाइँमा हामीलाई भेन्टिलेटर सहयोग गरेको छ ।  नेपालमा अहिले भैरहेको भेन्टिलेटरको १० प्रतिशतले हुन आउने भेन्टिलेटर एकै पटक दिएको छ यसका लागि नेपाल सकारको तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’

मन्त्री ढकालले विगतमा पनि अमेरिकाले नेपालमा महत्वपूर्ण सहयोग गर्दै आएको स्मरण गर्दै महामारीको समयमा आएको महत्वपूर्ण सहयोग शुक्रबारबाटै वितरण गरेर प्रयोगमा ल्याउने बताउनुभयो । उहाँले सात प्रदेशका सामाजिक विकास मन्त्रालयहरूका लागि सात सात वटा र बाँकी रहेका ५१ वटा भेन्टिलेटर सरकारी अस्पतालमा दुई दुईवटाको दरले वितरण गरिएको जानकारी दिनुभयो ।

मन्त्री ढकालले काेराेना विरूद्धकाे लडाइँमा अमेरिकाको अनुभव नेपालका लागि पनि महत्वपूर्ण हुने भन्दै उहाँले कोभिड १९ को खोप अमेरिकाका जनता र नेपाली जनताले सँगसँगै पाउने अपेक्षा गर्नुभयो । उहाँले कोरोना परीक्षणमा सहयोगी जीन एक्सपर्ट विगतमा पनि ७ हजार सहयाेग गरेको स्मरण गर्दै फेरि पनि त्यस्तो सहयोग हुने अपेक्षा गर्नुभयो । मन्त्री ढकालले कोरोना समूदायस्तरमा फैलिसकेको अवस्थामा अारटी पिसिअार जस्तै विश्वसनीय जीन एक्सपर्टको प्रयोगले सजिलै कोरोना पहिचान गरी नियन्त्रणमा सहयोग पुर्याउने बताउनुभयो ।

सो समारोहमा अमेरिकी राजदूत बेरीले असल र खराब दुबै समयमा अमेरिका नेपालको साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ असल र खराब दुबै समयमा अमेरिका नेपालसँगको साझेदारीप्रति  प्रतिवद्ध छ । यी भेन्टिलेटर मार्फत हामी नेपाली परिवारहरूलाई सघाउन चाहन्छाैँ जसले गर्दा कोभिड १९ बाट अति प्रभावित अाफ्ना प्रियजनलाई मद्दत गर्नका लागि उनीहरू तयार रहन सकून् ।’ उहाँले नेपाल सरकारसँग समन्वय गर्दै जीवनरक्षा सहयोगका लागि समग्र अमेरिका बिधि उपलब्ध गराउने कार्यमा संयुक्त राज्य अमेरिका प्रतिवद्ध रहेको बताउनुभयो ।